यस वर्ष सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धि हुँदैन : राष्ट्रिय तथ्यांक कार्यालय

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
यस वर्ष सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धि हुँदैन : राष्ट्रिय तथ्यांक कार्यालय

काठमाडौं । सरकारको लक्ष्यअनुसार यो वर्ष आर्थिक वृद्धि नहुने देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशतको आर्थिक वृद्धिको सरकारी लक्ष्य भए पनि ४ दशमलव ६-१ प्रतिशतमा सीमित हुने देखिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले आज पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षमा ४ दशमलव ६-१ प्रतिशत मात्र आर्थिक वृद्धि हुने आँकलन गरेको हो । गत आर्थिक वर्षमा ३ दशमलव ६-७ प्रतिशत आर्थिक वृद्धि भएको थियो । गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि सन्तोषजनक भए पनि सरकारको लक्ष्य भेट्न नसकिने कार्यालयले जनाएको छ । 

यो वृद्धि प्रक्षेपणले अहिले मुलुकको आर्थिक अवस्थामा सामान्य सुधार मात्र देखिएको छ । यसले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न नसक्ने विज्ञ बताउँछन् । गत आर्थिक वर्षमा निर्माण तथा व्यापार क्षेत्रको वृद्धि नकारात्मक रहेकामा यो वर्ष सबै क्षेत्र धनात्मक भएका छन् । 

कृषि क्षेत्रको वृद्धि भने गत वर्षको भन्दा कम हुने देखिएको छ । गत वर्ष ३ दशमलव ३-६ प्रतिशतले कृषि क्षेत्रको वृद्धि भएकामा यो वर्ष ३ दशमलव २-८ प्रतिशत रहने तथ्यांक कार्यालयको अनुमान छ ।

सबैभन्दा धेरै वृद्धि भने विद्युत् तथा ग्यासमा १३ दशमलव ८-२ प्रतिशत र यातायातमा ९ दशमलव ४-५ पुग्ने अनुमान छ । अर्कोतर्फ सबैभन्दा कम वृद्धि भने शिक्षाको १ दशमलव ९-८, खानी तथा उत्खननको  १ दशमलव ९-९ प्रतिशत हुने देखिएको छ ।

चालु आर्थिक वर्षको असारसम्ममा अर्थतन्त्रको आकार गत वर्षभन्दा ४ खर्ब रुपैयाँले बढेर ६१ खर्ब ६ अर्ब पुग्ने अनुमान छ । जुन गतवर्ष ५७ खर्ब ९ अर्ब रुपैयाँ कायम रहेको कार्यालयले जनाएको छ । 

यसवर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.