संसद्मा माओवादी अध्यक्ष दाहाल : सरकारको चर्को आलोचना, विपक्षी दलहरूको बचाउ

माघ २४, २०८१ |अञ्जना लामिछाने
संसद्मा माओवादी अध्यक्ष दाहाल : सरकारको चर्को आलोचना, विपक्षी दलहरूको बचाउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् बैठकमा सरकारको चर्को आलोचना गर्नुभएको छ । केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालमा सुरु गरिएका काम समाप्त पारिदिएको देखि भ्रष्टाचारीलाई जोगाउने र चोख्याउने काममात्रै गरेको आरोपसमेत दाहालले लगाउनुभयो। सरकारले ल्याएको अध्यादेशविरुद्ध आक्रोशित दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलहरुको बचाउ पनि गर्नुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकको एक घण्टा लामो सम्बोधनमा अधिकांश समय सरकारमाथि आक्रोस पोख्नुभयो। विशेषगरी सरकारले ल्याएको अध्यादेशविरुद्ध आक्रोश पोख्नुभएका दाहालले सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाउनु भयो । समितिमा छलफलमै रहेको विधेयक फिर्ता नलिई अध्यादेश ल्याएको भन्दै सरकारको नियतमाथि नै उहाँले प्रश्न गर्नुभयो । भूमिसम्बन्धी अध्यादेश सरकारले भूमाफियाका लागि ल्याएको उहाँले आरोप लगाउनुभएको छ ।

अध्यक्ष दाहालले आफू सत्ताको खेलमा नभएको संसदमा पनि दोहोर्याउनुभयो । दुई ठूला पार्टी मिलेर प्रतिपक्ष बढारिने भनेर टिप्पणी गरिए पनि आफूहरु झन् सशक्त भएको दाबी गर्नुभएका दाहालले सरकारले नागरिकलाई बोलेकै आधारमा हथकडी लगाउने गरेको आरोपसमेत लगाउनुभयो । सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर नागरिककको अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोजेको दाहालको आरोप थियो ।

सम्बोधनका क्रममा दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विपक्षी दलको बचाउ गर्नुभयो ।

उहाँले आफूले सुरु गरेका भ्रष्टाचारका काण्डहरुको छानविन कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गर्नुभयो । अतिक्रमित सरकारी जग्गादेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्मलाई वर्तमान सरकारले सामसुम पारेको आरोप लगाउनुभयो । ऐनले कल्पना नगरेको निर्देशिका तयार पारेर सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोजेको उहाँको भनाइ छ ।

अहिलेको सरकारले राजनीतिक स्वार्थका लागि कूटनीतिक सम्बन्ध बिगारेको आरोपसमेत उहाँको छ । त्यसैगरी संविधान संशोधनको विषयमा बोल्दै उहाँले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई संशोधन नसक्ने चुनौती दिनुभएको छ । संविधान संशोधनको नारा लिएर दुई ठूला दल मिलेर सरकार बने पनि संशोधन गर्न नसकेको उहाँको भनाइ छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement