चीनले घोषणा गरेका अनुदान नेपालले किन पाउन सकेन ?

मंसिर २०, २०८१ |अञ्जना लामिछाने
चीनले घोषणा गरेका अनुदान नेपालले किन पाउन सकेन ?

काठमाडौं । नेपाललाई चीनले पटक–पटक अनुदानका रुपमा ठूलो रकम सहयोग गर्ने घोषणा गर्दै आएको छ । बेलाबेलामा हुने दुईपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा पनि चीनले सहयोग घोषणा गर्छ । पछिल्लो पाँच वर्षभित्रै १ खर्ब १२ अर्ब रुपैयाँ अनुदान दिने घोषणा चीनले गरिसकेको छ । तर नेपालले परियोजना छनोट गर्न नसक्दा चीनले घोषणा गरेको कुनै पनि रकम प्राप्त भएको छैन ।

मित्र राष्ट्रले सहयोग घोषणा गर्ने, तर हामी लिन नसक्ने समस्या कहाँनेर हो ? नेपाल र चीनबीच राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीस्तरीय भ्रमणका क्रममा दुई पक्षीय सहमति र सम्झौता मात्र हुँदैनन्, चीनले नेपालको विकासमा सहयोग गर्ने भन्दै ठूलो मात्रामा अनुदान घोषणा गर्छ । तर घोषित अनुदान अहिलेसम्म नेपालले पाउन सकेको छैन ।

सन् २०१९ मा राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा गएका बेला चीनले २३ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । सन् २०१९ मै नेपाल भ्रमण गरेका चिनियाँ राष्ट्रपति सी चिनफिनले ६५ अर्ब रुपैयाँ अनुदान घोषणा गर्नुभएको थियो । त्यसैगरी सन् २०२२ मा परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा गएका बेला पनि १५ अर्ब रुपैयाँ अनुदान दिने घोषणा भयो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला पनि चीनले ९ अर्ब अनुदान दिने भनेको छ । यो समेत गरेर पछिल्लो पाँच वर्षमा चीनले अनुदान घोषणा गरेको रकम नै १ खर्ब १२ अर्ब पुगिसकेको छ । तर अहिलेसम्म चीनले घोषणा गरेको कुनै पनि रकम नेपालले प्राप्त गर्न सकेको छैन । पूर्वपरराष्ट्रमन्त्री नारायण खड्का नेपालले चिनियाँ अनुदान कुन आयोजनामा लगानी गर्ने हो स्पष्ट नपार्ने र हरेक भ्रमणमा नयाँ परियोजनासहित जाँदा चीनले निकासा नगरेको हुनसक्ने बताउनुहुन्छ । नेपालले अगाडि बढाउन खोजेका आयोजनामा स्पष्ट भएर रकम माग गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यसो त अनुदानमा रकम घोषणामा पनि सम्बन्धित पक्षको स्वार्थ लुकेको हुने जानकारहरु बताउँछन् । त्यही कारण नेपालले आफ्नो तर्फबाट गर्ने तयारी र त्यसको कार्यान्वयन पक्ष हेर्नुपर्छ । अन्यथा बिना तयारी अनुदान मात्र घोषणा गराउने तर सदुपयोग नगर्ने हो भने दाताहरुले नै बेवास्ता गर्न सक्छन् ।

घोषणा भइसकेको रकम ल्याउन दुई देशबीच समझदारी भइसकेका आयोजनाहरु अघि बढाउन सक्नुपर्छ । तर नेपालबाट हुने हरेक भ्रमणमा रकम प्राप्त गर्ने भन्दा नयाँ–नयाँ आयोजनाहरुको भारी बोकेर जाने प्रवृत्ति छ । यसले अनुदानको सदुपयोग त भएको छैन नै नेपालको विश्वसनियतामाथि पनि प्रश्न नउठ्ला भन्न सकिन्न ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।