सरकार भ्रष्टहरूको संरक्षण गर्दागर्दै चल्नै नसक्ने अवस्थामा पुग्यो : नारायणकाजी श्रेष्ठ

मंसिर १७, २०८१ |विनय आजाद
सरकार भ्रष्टहरूको संरक्षण गर्दागर्दै चल्नै नसक्ने अवस्थामा पुग्यो : नारायणकाजी श्रेष्ठ

सिरहा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्टहरूको संरक्षणमा लागेको आरोप लगाउनु भएको छ । सिरहाको मुसहर्नियाँमा आयोजित तीन दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो ।

“सरकारले मुलुकमा सुशासन र समृद्धिका लागि काम गर्नपर्ने हो”, उहाँले भन्नु भयो, “तर, यो सरकारलाई भ्रष्टाचारीहरूलाई जोगाउनबाटै फुर्सद छैन, सरकार आफ्नै कारणले चल्नै नसक्ने अवस्थामा पुगेको छ ।”

मानव तस्करीमा मुछिएका कोशीका मन्त्रीलाई जोगाउन सरकारले खेलेको भूमिका, राज्यले प्रतिवादी बनाएको व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको दलले लिएको अर्बौंको जग्गा दान लगायतका प्रकरणले यो सरकारको चरित्र उदाङ्गो पारिदिएको श्रेष्ठले बताउनु भयो । यो सरकारबाट विकास र सुशासनको कल्पनासम्म गर्न नसकिने उहाँको भनाइ छ ।

श्रेष्ठले आफ्नो पार्टी अहिले सरकार खसाउने र बनाउने खेलमा नरहेको पनि प्रष्ट पार्नु भयो । तर, देश र जनताको पक्षमा काम गर्ने वातावरण बनेको खण्डमा भने आफूहरू सरकारमा जान सक्ने उहाँले बताउनु भयो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement