भ्रष्टाचार नियन्त्रणमा सरकार र अख्तियारको भूमिकामाथि सत्तारुढ सांसदकै प्रश्न

कार्तिक १२, २०८१ |दीपक आचार्य
भ्रष्टाचार नियन्त्रणमा सरकार र अख्तियारको भूमिकामाथि सत्तारुढ सांसदकै प्रश्न

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्रीले जग्गादान लिएको विषयदेखि पुराना भ्रष्टाचारका काण्डको छानबिनका विषयमा प्रश्न उठाएका छन् । 

लामो समयदेखि विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि सुरु भएको छलफलमा सांसदहरुले भ्रष्टाचार नियन्त्रणमा सरकार र अख्तियार दुवै प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । अख्तियारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ समितिमा छलफल सुरु भए पनि सांसदहरुले अख्तियारको प्रभावकारितामाथिको आंशका व्यक्त गरेका हुन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरुले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले गरेको काममाथि प्रश्न उठाएका छन् । गृहमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि गरेको छलफलमा कांग्रेस सांसदहरुले सरकारकै गतिविधिमाथि प्रश्न गरेका हुन् ।

सरकार निष्पक्ष नभएको आरोप लगाएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सत्तारुढ दल एमालेले पार्टी कार्यालयका लागि लिएको जग्गा दानमा प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठायो । प्रतिपक्षी दलका सांसदहरुले भ्रष्टाचार गर्दिनँ भन्दै चर्को भाषण गर्नेहरु नै भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै रोष प्रकट गरे ।

सांसदहरुले अख्तियारले प्रभावकारी काम गर्न नसकेको विषय उठाइरहेको बेला अख्तियारका प्रमुखले भने भ्रष्टाचार नियन्त्रणमा सबैको पहल नभएसम्म सम्भव नभएको धारणा राख्नुभयो । उहाँले विभागीय कारबाही नै गर्न नसक्ने अवस्था देखिएको जिकिर गर्नुभयो ।

रास्वपा सांसदहरुको चासो भने आफ्नै सहकारी प्रकरणमा सभापति रवि लामिछाने पक्राउको प्रस‌ंगमा थियो । उनीहरुले लामिछानेलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने तर्क गरे । प्रतिपक्षीले मात्र होइन, सत्ता पक्षकै सांसदहरुले सरकारको कामका बारेमा प्रश्न उठाएपछि गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारमा सरकारले शून्यसहनशीलताको नीति लिएकाले कसैलाई पनि नछाड्ने दृढता व्यक्त गर्नुभयो ।

समितिले विधेयकमाथिको छलफल सुरु गरे पनि विषयवस्तु अहिले सुशासनमा देखिएका समस्यामा केन्द्रीत रह्यो । तर अख्तियारले अनुचित कार्यको अनुसन्धान गर्न पाउनुपर्ने माग गर्यो भने सांसदहरुले निजी क्षेत्रमा अख्तियारको प्रवेश उपयुक्त नहुने धारणा राखे ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।