एमाले-कांग्रेस गठबन्धन, सत्ता भागबन्डामै अलमल

श्रावण ११, २०८१ |दशरथ राई
एमाले-कांग्रेस गठबन्धन, सत्ता भागबन्डामै अलमल

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच संघीय सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको उनीहरुले सार्वजनिक गरिसकेका छन् । तर नयाँ गठबन्धन निर्माण हुँदा प्रदेशको सरकारको नेतृत्वका विषयमा भने स्पष्ट सहमति उनीहरुले गरेका छैनन् ।

परिणामत: संविधान संशोधन र स्थायी सरकारको नारा दिएर गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा एमाले अन्ततः सत्ताकै भागबन्डामा अल्मलिन लागेका हुन् कि भन्ने आशंका बढाएको छ । प्रदेश सरकारको नेतृत्वका लागि आफ्नै नेताहरुले आफूअनुकूल भागबन्डा खोजेपछि दुवै दलमा अप्ठ्यारो सुरु भएको छ । अहिले संघमा जस्तै आलोपालो मुख्यमन्त्री बन्नुपर्ने माग गर्दै दुवै दलका प्रदेश नेताहरु काठमाडौं धाइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा कांग्रेससँग असार १७ गते भएको सहमतिअनुसार आफू दुई वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि चुनावसम्मको कार्यकालमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्ने सार्वजनिक गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सहमति सार्वजनिक गरेपछि प्रदेशमा पनि दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग उठेको छ । त्यसका लागि दुवै दलका प्रदेशका नेताहरु काठमाडौं आएर लबिइङ गरिरहेका छन् । गण्डकी प्रदेशका एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी अहिले काठमाडौंमा हुनुहुन्छ ।

गण्डकीमा अहिले कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुनुहुन्छ । संघमा जस्तै गण्डकी प्रदेशमा पनि आलोपालो मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव लिएर अधिकारी काठमाडौं आएर नेतृत्वसँग भेटघाट गरिरहनुभएको हो । गण्डकी प्रदेशको चुनावी सरकारको नेतृत्व आफूले पाउनुपर्ने उहाँको अडान छ । तर प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा पार्टीले छलफल नगरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ ।

मुख्यमन्त्री आलोपालोको मिति तोकिनुपर्ने भन्दै प्रदेशमा किचलो

अधिकारीले केन्द्रमा लबिइङ गरिरहेकाले गण्डकीमा अहिलेसम्म एमाले सरकारमा सहभागी भएको छैन । उता कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापासहितको टोली पनि अहिले काठमाडौंमै नेतृत्वसँग भेटघाटमा छ । कोशीमा पनि संघमा जस्तै आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने अडान थापाको छ । अहिले कोशीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री हुनुहुन्छ, तर कांग्रेस सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्री आलोपालोको सहमति गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने माग थापा समूहले सभापति देउवासमक्ष राखिसकेको छ ।

ओली र देउवाबीच भएको सहमतिमा दुई दल मिलेर प्रदेश सरकार गठन गर्ने उल्लेख छ । तर कुन प्रदेशको नेतृत्व कसले लिने र आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने स्पष्ट छैन । कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व एमालेले र बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको नेतृत्व कांग्रेसले गर्ने समझदारी भइसकेको छ । यो समझदारीअनुसार माओवादीका मुख्यमन्त्री भएका बागमतीमा कांग्रेसले र लुम्बिनीमा एमालेले नेतृत्व लिइसकेका छन् ।

यी दुवै प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्नुपर्ने तर्क दुवै दलभित्र छ । यसले पनि यी दुबै दलमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यही विवादले एमालेको नेतृत्व भएको कोशीमा कांग्रेस र कांग्रेसको नेतृत्व भएको गण्डकी सरकारमा एमाले सहभागी भएको छैन । प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नेबारे कांग्रेस र एमालेको केन्द्रीय नेतृत्व मौन छ । यसबारे दुवै दलको केन्द्रीय नेतृत्वले तत्काल स्पष्ट नपारे प्रदेश सरकारहरुको काम नै अलपत्र पर्ने देखिएको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement