अमेरिकी भिसाको सिफारिस प्रकरणमा उपसभामुख रानामाथि नैतिक प्रश्न, सभामुख घिमिरेद्वारा सोधपुछ

जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी
श्रावण ४, २०८१ |दीपक आचार्य
अमेरिकी भिसाको सिफारिस प्रकरणमा उपसभामुख रानामाथि नैतिक प्रश्न, सभामुख घिमिरेद्वारा सोधपुछ

काठमाडौं । उपसभामुख इन्दिरा रानाले पदीय दुरुपयोग गरी अनधिकृत व्यक्तिलाई अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको सार्वजनिक भएपछि सभामुख देवराज घिमिरेले गम्भीर चासो व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले आजै उपसभामुख रानालाई बोलाएर यसबारे जानकारी लिनुभएको छ ।

संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सदस्यहरुले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रका बारेमा सभामुखसँग जानकारी मागेका छन् । योसँगै उपसभामुखमाथि छानबिन गरी कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरीसमेत परेको छ ।

संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदस्यहरुले उपसभामुख रानाले अनधिकृत व्यक्तिलाई अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको भन्ने विषयमा सभामुख घिमिरेसँग जानकारी माग गरेका थिए । त्यस क्रममा सभामुखले आफूले उपसभामुखलाई बोलाएर सोधिसकेको र थप छलफल गर्नुपर्ने बताउनुभएको थियो । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यो विषय गम्भीर भएको जनाउनुभएको छ ।

उपसभामुख रानाविरुद्ध पदीय दुरुपयोग भन्दै संसदीय समितिमा उजुरीसमेत परेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । उजुरीमा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका जाने प्रक्रियामा सहजीकरण गरिएको भनिएको समिति सभापति रामहरि खतिवडाले जनाउनुभयो ।

संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । उक्त कार्ययक्रममा भाग लिने क्रममा चार पुरुष र एक महिलालाई अन्तर्वार्ताको मिति अगाडि मिलाइदिन भन्ने सिफारिस गरेको पत्र बाहिरिएको छ । जुन उपसभामुखको लेटरप्याडमा छ र त्यो सिफारिस लेख्ने क्रममा संसद्को अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत गर्नुपर्ने प्रक्रिया पूरा गरिएको छैन ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने भर्खर बाहिर आएको विषय भन्दै अहिले नै आधिकारिक धारणा बनाइ नसकेको प्रमुख सचेतक हितराज पाण्डेले जनाउनुभयो ।

उपसभामुख रानाले भने आफूमाथि लागेको आरोपलाई निराधार भन्नुभएको छ । आफूले भिसाका लागि कुनै पनि सिफारिस नगरेको बरु सामान्य चिनजानका व्यक्तिलाई अन्तर्वार्ताको मिति अगाडि दिन भनेको दाबी गर्नुभएको छ । जबकि त्यसमा उहाँले उपसभामुखको लेटरप्याड नै प्रयोग गर्नुभएको छ । उपसभामुखले त्यसरी लेटरप्याडको प्रयोग गरी अनधिकृत व्यक्तिका लागि चिठी लेख्न मिल्दैन ।

उपसभामुखको पदमा रहेको व्यक्तिले सामान्य प्रक्रिया भन्दै अज्ञानता व्यक्त गरेर यस्ता गम्भीर प्रश्नबाट बाहिर आउन सक्ने अवस्था देखिँदैन । यसले अब उपसभामुखमाथि नैतिक प्रश्न मात्र उठेको छैन, उहाँ कानुनी छानबिनको दायरामा नै पर्नुभएको छ ।

यसैबीच उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे आज स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्दै आफूविरुद्ध ‘नियोजित कदम’ चालिएको बताउनुभएको छ ।

उपसभामुख रानाले आफूले करूणाभावले उक्त पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछाडि नियोजित कदम रहेको उल्लेख गर्नुभएको छ । गत वर्ष २०२३ को मार्च महिनामा यूएनसीएसडब्लुको सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्ल्यू ६७ को सहभागिताका लागि आफूलगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरेको उलेल्ख गर्दै उहाँले अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर दूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकाले आफूले पत्र लेखेको उल्लेख गर्नुभएको छ ।

यो पनि...

उपसभामुख रानाविरुद्ध संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement