पेरिस पारालिम्पिक्स सकिन एक दिन बाँकी, चीनले सर्वाधिक पदक जित्ने निश्चित

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस पारालिम्पिक्स सकिन एक दिन बाँकी, चीनले सर्वाधिक पदक जित्ने निश्चित

काठमाडौं । पेरिस पारालिम्पिक्स सकिन आज एक दिन मात्र बाँकी रहँदा यस पटक पनि चीनले नै सर्वाधिक पदक जित्ने निश्चित भएको छ ।

१० औं दिनको समाप्ती सम्म चीन ९४ स्वर्ण सहित शीर्ष स्थानमा छ । टोकियो पारालिम्पिक्समा पनि चिन शीर्ष स्थानमा रहेको थियो ।

एसियाली देश चीनले कुल २ सय १६ पदक जित्दा ९४ स्वर्ण ७३ रजत र ४९ कांस्य पदक हात पारेको छ । दोस्रो स्थानमा रहेको बेलायतले हालसम्मकै उत्कृष्ट प्रदर्शन गरेर एक सय २० पदक आफ्नो नाममा गरिसकेको छ । उसले ४७ स्वर्ण ४२ रजत र ३१ कांस्य जितेको छ । चीन र बेलायतले जितेका स्वर्णमा बीच ४७ पदकको अन्तर भएको र प्रतियोगिताको अन्तिम दिन ४० पदकका लागी प्रतिस्पर्धा हुने भएकाले चीन शीर्ष स्थानमा रहने पक्का भएको हो । पेरिस पारालिम्पिक्समा हालसम्म ५ सय ४९ मध्ये ५ सय ९ पदक विजेताहरुको टुङ्गो लागी सकेको छ ।

तेस्रो स्थानमा कायमै रहेको अमेरिकाले ३६ स्वर्ण सहित कुल १ सय २ पदक हात पारेको छ । अमेरिकाले ४१ रजत र २५ कांस्य पदकमा कब्जा जमाएको छ । नेदरल्यान्ड्स कुल ५५ पदकसहित तालिकाको चौथो स्थानमा छ । उसका खेलाडीले २६ स्वर्ण, १७ रजत र १२ कांस्य जितेका छन् । आयोजक फ्रान्सले भने शीर्ष पाँच भित्र पनि स्थान बनाउन सकेको छैन । ऊ इटाली, ब्राजिल र युक्रेन भन्दा पछि छ। पाँचौ स्थानको इटालीले २४ स्वर्णसहित ७१ पदक जितेको छ भने ब्राजिलले २३ स्वर्णसहित कुल ८६ पदक आफ्नो नाममा गरेको छ ।

युक्रेनको नाममा २१ स्वर्ण २६ रजत र ३२ कांस्य सहित कुल ७९ पदक छन् । फ्रान्सले १९ स्वर्ण, २७ रजत र २८ कांस्यसहित ७४ पदक जितेको छ । अष्ट्रेलिया र जापान क्रमिक रुपमा शीर्ष १० भित्र रहेका छन् । अहिले सम्म सहभागी १ सय ६८ देश मध्ये ६६ देशले कम्तिमा १ स्वर्ण जितेका छन् भने ८५ देशले पदकको खाता खोलेका छन् ।१६ औं संस्करणको पारालिपिम्क्स अन्तर्गत प्रतिस्पर्धाको अन्तिम दिन आज १३ खेलका ४० स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको समापन भोली हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement