उपसभामुख रानाविरुद्ध संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी

श्रावण ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपसभामुख रानाविरुद्ध संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी

काठमाडौं । पदीय दुरुपयोग गरेको आरोप लगाउँदै उपसभामुख इन्दिरा रानाविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको आरोप लगाउँदै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिनुभएको हो । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लाग्नु भएकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लग्ने प्रक्रिया अघि बढाउनुभएको थियो । आफूसँगै ६ जना यो कार्यक्रममा जान लागेको भन्दै उहाँले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेख्नुभएको थियो । 

जबकि, संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत् परराष्ट्रय मन्त्रालयले गर्छ । तर, अनधिकृत व्यक्तिको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेख्नुभएको थियो । उपसभामुखमा निर्वाचित हुनुअघि राना राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुनुहुन्थ्यो । तर, यस विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समेत गुपचुप राखेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement