काठमाडौं । आज नेपाली नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदैछन् ।
भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ । हिन्दू नारीहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला-पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको बताइएको छ।
रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।