रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी
असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गरेको छ । हिजो बसेको केन्द्रीय समिति बैठकले अभद्र व्यवहार गरेको भन्दै महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही अन्तर्गत केही दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको हो ।

ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्तासमेत तोकिएको छ । ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिनेसमेत जनाइएको छ ।

केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ । महामन्त्री ढकालले भने बैठकका छलफल पारदर्शी हुनुपर्ने बताउँदै प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग उठाउनु भएको थियो । उहाँले विरोधस्वरूप हिजोको बैठकमा मुखमा कालो टेप टाँस्नु भएको थियो ।

उहाँले आफूलाई सत्यकुरा बोल्न नदिएको भन्दै पार्टीलाई रवि लामिछानेको मात्रै नबनाउन केन्द्रीय नेताहरुसँग आग्रह गर्नुभएको थियो । विवादकै कारण हिजो बसेको केन्द्रीय समिति केहीबेर स्थगित नै गर्नु परेको थियो ।

ढकालले बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरे पनि १५/१६ जना सदस्यले गोपनीयता भन्दै अस्वीकार गरेको सभापति लामिछानेको सचिवालयले दाबी गरेको छ । ३८ जिल्ला पुगेर तयार प्रतिवेदनको सार्वजनिक साराशंमा महामन्त्री ढकालले पार्टी नसच्चिए सक्किने चेतावनी पनि दिनुभएको छ । बैठकमा ढकाललाई नै प्रतिवेदन पेस गर्न भनिए पनि नमानेका कारण सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढघण्टा लगाएर ३२ पेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार :

राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद छताछुल्ल

रास्वपा महामन्त्री ढकालको प्रतिवेदन- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं (पूर्णपाठ)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement