राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद छताछुल्ल

केन्द्रीय समिति बैठकमै महामन्त्री ढकालको मुखमा कालोपट्टी
रास्वपालाई रविको मात्रै पार्टी नबनाउन अपिल
असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद छताछुल्ल

काठमाडौं । महामन्त्री मुकुल ढकालको प्रतिवेदन र त्यसमाथिको छलफलले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद छताछुल्ल भएको छ । महामन्त्री ढकालले त आफूलाई सत्य कुरा बोल्न नदिएको भन्दै पार्टीलाई रवि लामिछानेको मात्रै नबनाउन केन्द्रीय नेताहरूसँग आग्रह नै  गर्नुभएको छ । विवादकै कारण आज बसेको केन्द्रीय समिति केहीबेर स्थगित नै गर्नुपर्‍यो ।

मुखमा कालोटेप बाँधेर पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी महामन्त्री ढकालले रविको नभै राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन माग गर्नुभएको हो । ३८ जिल्ला पुगेर तयार प्रतिवेदनको सार्वजनिक  सारांशमा महामन्त्री ढकालले पार्टी नसच्चिए सक्किने चेतावनी पनि दिनुभएको छ । 

ढकालले बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्नु भएको थियो । तर नगरिएकाले बोल्न पाउने आफ्नो हक हनन भएको भन्दै उहाँले प्रतिवेदन पढ्न पनि अस्वीकार गर्दै मुखमा कालोटेप बाँध्नु भएको हो । महामन्त्री ढकालले बैठकको प्रत्यक्ष प्रसारण  गर्न माग गरे पनि १५/१६ जना सदस्यले गोपनीयता भन्दै अस्वीकार गरेको सभापति लामिछानेको सचिवालयले दाबी गरेको छ । नेताहरूले महामन्त्रीलाई बोल्न अवरोध नगरिएको पनि दाबी गरेका छन् ।

विवादकै बीच बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । महामन्त्री ढकाललाई नै प्रतिवेदन पेस गर्न भनिए पनि नमानेका कारण सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढघण्टा लगाएर ३२ पेजको प्रतिवेदन प्रस्तुत गरेको रास्वपाले बताएको छ । प्रतिवेदन माथि नेताहरूले दिनभर आफ्नो धारणा राखे । 

महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो । प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ । प्रतिवेदनका बारेमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement