राज्यले कसुरजन्य अपराध भनेको छाउपडीबारे नेताहरू भन्छन्- ‘गोठ एसी लगाएर बना‌औँ’ (भिडियो)

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
राज्यले कसुरजन्य अपराध भनेको छाउपडीबारे नेताहरू भन्छन्- ‘गोठ एसी लगाएर बना‌औँ’ (भिडियो)

काठमाडौं । राष्ट्रिय सभा सदस्य रेनु चन्दले राज्यले कसुरजन्य अपराध भनेको छाउपडीविरुद्ध नेताहरूले गोठ चाहिँ एसी लगाएर बना‌औँ भन्ने गरेको बताउनु भएको छ । 

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य चन्दले भन्नुभयो– ‘राज्यले कसुरजन्य अपराध भनिसक्यो, नेताले के भन्छन् भने पछि गोठ चाहिँ एसी लगाएर बना‌औँ ।’ यस्तो कुतर्क आफूले नेताहरूबाट सुन्ने गरेको उहाँले बताउनु भयो । उहाँले छाउपडी कुप्रथाका बारेमा राजनीति गर्नेहरूकै चेतना स्तरमा नकारात्मक प्रभाव परेको बताउनु भयो ।

महिनावारीलाई धर्मसँग जोड्ने गरेको बताउँदै उहाँले धर्ममा लेखेका कुराहरू परिवर्तन गरेको होइन त भन्दै प्रश्न पनि गर्नु भयो । ‘गायत्री मन्त्र सुन्दाखेरि खानमा सुन पगालेर हालेर मृत्युदण्ड दिएको होइन ?, अलाना फलाना जातीले सुन्न पाइँदैन भनेर’ उहाँले भन्नुभयो, ‘ खै त ? आज गायत्री मन्त्री मोबाइलको रिङटोन हो । खै त कोही मरेको ? खोइ त कसैलाई मृत्युदण्ड दिएको ?’

सांसद चन्दले आफ्नो अनुकूलतामा त्यस्ता व्यवस्था संशोधन गर्ने गरेको बताउनु भयो । ‘आफ्नो अनुकूलतामा सबै संशोधन गर्ने तर फेरि महिलाहरूको सन्दर्भमा आउँदा खेरि महिलालाई दबाउने, महिलालाई हिंसामा पार्ने- सबै प्रकृतिका संयन्त्रहरू जबरजस्ती रूपमा जीवित राख्ने जुन प्रयासहरू गरिरहिएको छ यसको म घोर निन्दा गर्छु,’ उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार...

गृहमन्त्री लामिछानेलाई अछाम छाउपडी घटनाबारे राष्ट्रिय सभामा जवाफ दिन अध्यक्षको निर्देशन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.