आगामी आर्थिक वर्षको बजेट पर्सि आउने

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आगामी आर्थिक वर्षको बजेट पर्सि आउने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पर्सि जेठ १५ गते दिउँसो १ बजे आउने भएको छ । सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे संघीय संसद्‌को संयुक्त बैठक बोलाउनुभएको हो ।

बजेट पेस हुने दिन पौने १ बजे नै आइपुग्न पनि सभामुख घिमिरेले सांसदहरुलाई आग्रह गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गर्नुहुनेछ । नयाँ बजेट जेठ १५ गते ल्याउने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा बैठक भने १५ गते ४ बजे बोलाइएको छ ।

यसैबीच आजको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पनि पारित भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आजै अर्थमन्त्री पुनले प्रतिनिधिसभाको वेलमा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै बेला आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा पेस गर्नुभएको थियो ।

नाराबाजीकै बीच अर्थमन्त्रीको बाटो छेकिरहेका कांग्रेस सांसदहरूलाई सत्तारुढ एमाले, माओवादी र रास्वपाका सांसदहरूले धकेलेर रोस्टममा जान सघाएका थिए ।

रास्वपा सांसद स्वर्णिम वाग्लेले विपक्षको विरोधलाई लज्जास्पद र औचित्यहीन भनेपछि होहल्ला थप बढेको थियो ।

आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारीको बचत अपचलनकर्ता उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गर्नुभएको थियो ।

आजै राष्ट्रिय सभाको बैठक पनि बसेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.