उपनिर्वाचनको रस्साकस्सी : इलाममा कसले मार्ला बाजी ?

चैत्र २४, २०८० |विप्लव भट्टराई|पर्वतराज घिमिरे
उपनिर्वाचनको रस्साकस्सी : इलाममा कसले मार्ला बाजी ?

काठमाडौं । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन रोचक छ । २०५६ सालदेखि एमालेका तत्कालीन नेता सुवासचन्द्र नेम्वाङले यही निर्वाचन क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए । सुवासको निधनपछि एमालेले छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा ११४ मतले मात्र पराजित डम्बरबहादुर खड्कालाई नेपाली कांग्रेसले फेरि उम्मेदवार बनाएको छ । गत चुनावको मतको अंकगणित हेर्दा यसपटक पनि सुहाङ र डम्बरबीच प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ । तर मतदाताको परिवर्तित आकांक्षा र अरु उम्मेदवारका कारण गत चुनावको अंकगणितलाई मात्र आधार मानेर अड्कलबाजी भने गर्न सकिँदैन ।

इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८६४ मतदाता छन् । यो अघिल्लो चुनावको भन्दा ४२२ मात्र बढी हो । तर गत चुनावमा ६९ हजार ४८१ जनाले मात्र मतदान गरेका थिए । त्यसमा पनि ६६ हजार ८८५ मत मात्र सदर भयो । सदर मतमध्ये नेकपा एमालेका तत्कालीन नेता सुवास नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका थिए । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए । त्यसबेला एमालेले एक्लै प्रतिस्पर्धा गरेका थियो भने कांग्रेस र माओवादीले सहकार्य गरेका थिए ।

गत निर्वाचनमा एमालेको जितमा उसको बलियो जनाधार, नेम्वाङको व्यक्तिगत छवि र कांग्रेसभित्रको अन्तरविरोध प्रमुख आधार थियो । यस पटकको निर्वाचनमा एमालेका सुहाङलाई माओवादी केन्द्रको साथ दिएको छ । एमाले र माओवादीको मत जोड्दा सुहाङको अवस्था अंकणितमा बलियो देखिए पनि सहज छैन । किनकि कांग्रेसले गत निर्वाचनमा झिनो मतान्तरले पराजित नेता खड्कालाई अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी परित्याग गरेका युवा नेता मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले एक हजार ३८० मत प्राप्त गर्दा मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले एक हजार ३५३ मत पाएका थिए ।

समानुपातिकतर्फ रास्वपाले चार हजार मत प्राप्त गरेको थियो । यो निर्वाचनमा रास्वपाले कांग्रेस र एमालेका असन्तुष्टहरुको मत तान्ने रणनीति बनाएको छ । यसैगरी यसपटक पहिचानको नारा बोकेका डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रलाई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उठेर धरान उपमहानगरपालिकाको प्रमुख बनेका हर्क साम्पाङको साथ छ । उनले पहिचान पक्षधरको मत तान्ने र बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा राखेका छन् ।

यसबाहेक इलाम २ मा यसपटक अन्य दल र स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । यसले गर्दा उम्मेदवारी मनोनयनलगत्तै निर्वाचनको मतपरिणाम विश्लेषण गर्न कठिन हुने देखिएको छ । त्यसमाथि मतदाताहरुको मत हरेक निर्वाचनमा कहाँ पर्छ भन्ने अनुमान गर्न गाह्रो छ । किनकि गत स्थानीय निर्वाचनमा काठमाडौं, धरान, धनगढीजस्ता सहरमा प्रतिस्पर्धी मानिएका दलका उम्मेदवार पराजित भएका उदाहरण छन् ।

यो पनि...

इलाम उपनिर्वाचनमा २० जनाबीच प्रतिस्पर्धा, दलका १२ र स्वतन्त्र ८

बझाङ उपनिर्वाचन : १२ दलले गराए उम्मेदवारी दर्ता


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।

Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।