टी-२० विश्वकप छनोटमा नेपालको रोमाञ्चक पुनरागमन, ओमानविरुद्धको खेल निर्णायक

आश्विन २८, २०८२ |सुवास रोकाया
टी-२० विश्वकप छनोटमा नेपालको रोमाञ्चक पुनरागमन, ओमानविरुद्धको खेल निर्णायक
Photo Source : CAN

काठमाडौं । हाल विश्व क्रिकेटको ध्यान ओमानमा छ । जहाँ आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोट प्रतियोगिता चलिरहेको छ । 

यो प्रतियोगिताको केन्द्रमा नेपाली राष्ट्रिय क्रिकेट टोली छ । सुपर सिक्स चरणका खेलहरूमा नेपालको अविश्वसनीय पुनरागमनले विश्वभरका क्रिकेट प्रेमीलाई चकित बनाइदिएको छ । यूएई र कतारविरुद्ध हारको मुखबाट र्फकादै नेपालले जित हात पारेपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको चर्चा भइरहेको हो ।

बलिङ र फिल्डिङमा नेपालको चम्किलो प्रदर्शन प्रशंसनीय देखिए पनि ब्याटिङ भने अझै कमजोर देखिएको छ । यूएईमा सम्पन्न युनिटी कपमा नेपालले सुरुवाती दुई खेलमै बलिङ, ब्याटिङ र फिल्डिङसहित सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको थियो । दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको शृङ्खला जित्दै नेपाल आत्मविश्वासका साथ ओमान पुगेको हो ।

ओमानमा पनि नेपालको यात्रा सानदार रहृयो । समूह चरणमा कुवेत र जापानलाई सहजै पराजित गरेपछि सुपर सिक्समा भने चुनौती बढ्यो । यूएई र कतारविरुद्ध नेपालले गरेको पुनरागमन कुनै चलचित्रको कथाभन्दा कम थिएन । जहाँ अन्तिम क्षणसम्म तनाव र रोमाञ्चता झल्किएको थियो ।

यूएईविरुद्धको 'एसोसिएट एल-क्लासिको'मा नेपालको बलिङ र फिल्डिङले जादू झैँ काम गर्‍यो । पहिला ब्याटिङ गर्दै नेपालले १ सय ४० रनको सामान्य स्कोर बनाएको थियो । तर अन्तिम ओभरमा १० रन बचाउनुपर्ने चुनौतीका बीच नेपालले १ रनले जित निकालेको क्षण आफैंमा अविश्वसनीय छ ।

दीपेन्द्रसिंह ऐरीको बलिङ, फिल्डिङ, सन्दीप लामीछानेको कमक्याक स्पेल र टिमको मनोबलले त्यो जित सम्भव भएको थियो । गुल्सन झाले ५ बलमा १४ रनको तीव्र इनिङ्स खेलेर जितको जग तयार पारेका थिए । कतारविरुद्ध पनि नेपालले पुनः असाधारण कम ब्याक गर्‍यो । कप्तान रोहित पौडेलको ५८ रनको अर्धशतक र गुल्सन झाको ८ बलमा १६ रनले नेपाललाई १ सय ४७रनको स्कोरमा पुर्‍याएको थियो ।

तर प्रारम्भिक अवस्थामा कतारी ओपनर इमाल लियानागे र जुबेर अलीले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गर्दै नेपाललाई दबाबमा राखे । १०औं ओभरमा सन्दीप लामिछानेले साझेदारी तोडेपछि खेलको रङ फेरियो । १२औं ओभरमा नन्दन यादवले जुबेरलाई आउट गरेपछि नेपालले पुनरागमनको संकेत गरेको थियो । १३औं ओभरमा दीपेन्द्र र आदिल अन्सारीले लगातार रनआउट गरेपछि खेल नेपालतर्फ मोडिएको थियो ।

१० रन रक्षा गर्नुपर्ने अवस्थामा अन्तिम ओभरमा सन्दीपको हातमा बल थियो । उनले कप्तानको विश्वासलाई सार्थक बनाए । ५ बलमा ४ रन मात्र खर्चेर २ विकेट लिँदै नेपाललाई ५ रनले जित दिलाए । यो खेलमा सन्दीपले १८ रन खर्चिएर ५ विकेट लिए । टी-२० करिअरमा दोस्रो पाँच विकेट हल पुरा गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर बने ।

सुपर सिक्सका दुवै खेलमा नेपालको बलिङ र फिल्डिङ नै जितको मेरुदण्ड बन्यो । प्रत्येक बलरले टिमका लागि योगदान गरे, प्रत्येक फिल्डरले रन रोके । क्याच समाते र सही समयमा रन आउट पनि गरे । गुल्सन झाको छोटो तर प्रभावशाली इनिङ्सले ब्याटिङमा आत्मबल जगायो । तर कमजोर स्ट्राइक रेट र मिडल ओभरमा सुस्त रन गति नेपालको मुख्य समस्याका रुपमा देखा परेको छ ।

कुशल मल्लको निरन्तर कमजोर र्फम, सन्दीप जोराको अस्थिरता र मध्यक्रमको अनिश्चितता अहिले टिमको प्रमुख चुनौती बनेको छ । कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलको प्रदर्शन औसतस्तरमा सीमित छ ।

नेपालले अब सुपर सिक्समा दुई खेल खेल्न बाँकी छ । बुधबार हुने ओमानविरुद्धको भिडन्त निर्णायक हुनेछ । त्यो खेल जिते नेपालको विश्वकप यात्रा पक्का हुनेछ । त्यसपछि अन्तिम खेलमा सामोआलाई हराउँदै च्याम्पियनको हैसियतमा विश्वकपको टिकट हात पार्ने लक्ष्य छ । तर त्यो सम्भव हुनका लागि नेपालले अब ब्याटिङमा पनि बलिङ र फिल्डिङजस्तै धारिलो प्रदर्शन गर्नुपर्नेछ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।