काठमाडौं । मडागास्करमा राष्ट्रपति एन्ड्री रोजो लिनाद्वारा संसद् विघटन र राष्ट्रपतिविरूद्ध महाभियोग एक साथ अघि बढेपछि राजनीतिक संकट गहिरिएको छ ।
जेन-जी युवाहरुको झन्डै ३ साता लामो प्रदर्शनपछि राष्ट्रपति रोजेलिनाले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै संसद् विघटनको घोषणा गर्नुभएको हो । एक अज्ञात स्थलबाट उहाँले फेसबुकबाट सम्बोधन गर्नुभएको थियो ।
तर, विपक्षी सांसदहरूले भने राष्ट्रपतिमाथिको महाभियोग प्रस्तावमा मतदान गरेका छन् । कुल १ सय ६३ मध्ये १ सय १० सांसदहरूले राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्तावमाथिको मतदान प्रक्रिया सुरू गर्ने निर्णय गरेका थिए । तर राष्ट्रपति रोजोलिनाले मतदान असम्वैधानिक भन्दै विरोध जनाउनुभएको छ ।
जेन-जी युवाहरूले सुरू गरेको प्रदर्शनलाई सरकारी कर्मचारी तथा सैनिकहरूले साथ दिएपछि राष्ट्रपति दबाबमा पर्नुभएको थियो ।