काठमाडौं । मुलुकको ५ पटक प्रधानमन्त्री र एक दशक पार्टी नेतृत्व गर्नुभएका शेरबहादुर देउवा आजदेखि औपचारिक रुपमा कार्यकारी भूमिकाबाट अलग हुनुभएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसँगै उहाँ कार्यकारी भूमिकाबाट अलग हुनुभएको हो । कांग्रेस बैठकमा लिखित मन्तव्य राख्ने क्रममा देउवाले विधानअनुसार नै १५ औं महाधिवेशनबाट आफूले पार्टी नेतृत्व विधिवत हस्तान्तरण गर्ने घोषणासमेत गर्नुभयो ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चर्कंदै गइरहेको र नेतृत्वबाट तत्काल हट्न दबाब बढिरहेका बेला सभापति शेरबहादुर देउवा मंगलबार औपचारिक रुपमै पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिनुभयो। जेन-जी आन्दोलनपछि मंगलबार पहिलोपटक सार्वजनिक हुनुभएका देउवाले १३ पेज लामो लिखित मन्तव्य राख्ने क्रममा स्वास्थ्यका कारण जनाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नुभयो ।
देउवाले मन्तव्यका क्रममा आफूले ५ पटक प्रधानमन्त्री रहँदा गरेका सुधार र पार्टीमा गरेका योगदानको स्मरणसमेत गर्नुभयो । उहाँले विधानको व्यवस्था र आफ्नै इच्छाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने घोषणासमेत गर्नुभयो ।
देउवा १५ औं महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्ने प्रयासमा हुनुहुन्थ्यो । तर, यहीबेला दुई महामन्त्री गगन थापाले र विश्वप्रकाश शर्माले सार्वजनिक रुपमै नेतृत्वबाट अलग हुन आह्वान गरेका थिए भने विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत गराएका थिए ।
पार्टीभित्र दबाब बढ्दै जाँदा देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको घोषणा गर्नुभयो । २०१७ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा होमिनुभएका उहाँ २०४६ को परिवर्तनपछि सरकार र पार्टीमा पटक-पटक कार्यकारी भूमिका रहनुभयो । २०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका उहाँ त्यसयता ५ पटक प्रधानमन्त्री बनिसक्नुभएको छ ।
यसैगरी, २०५९ सालमा कांग्रेस विभाजनपछि नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बन्नुभएका उहाँ नेपाली कांग्रेसको १३ औं र १४ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो ।