काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउन सकिने बताउनुभएको छ ।
केन्द्रीय कार्य समितिको बैठकमा मंगलबार लिखित मन्तव्य राख्दै देउवाले तोकिएको मितिमा निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी नभएको देउवाको भनाइ छ ।
सभापति देउवाले सरकारले राजनीतिक दलहरुसँग सार्थक सम्वादको वातावरण नबनाएको उल्लेख गर्दै यस अवस्थामा कांग्रेसले अन्य दलसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक रहेको बताउनुभयो । देशमा विद्यमान राजनीतिक परिस्थितिको निकासका लागि आवश्यकता अनुसार अन्य दलसँग पनि सम्वाद गर्नुपर्ने स्थिति रहेको उहाँको भनाइ छ ।
बैठकलाई सम्बोधन गर्दै देउवाले गत भदौ २३ र २४ गतेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । त्यसक्रममा पार्टी केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र १ सय २५ नेताका घर तथा डेरामा आक्रमण, लुटपाट र आगजनी तथ्यांक पनि उहाँले पेस गर्नुभयो ।
यस्तै सुशासन र भ्रष्टाचारमुक्त वातावरण तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जेन-जीका जायज मागलाई सम्बोधन गरिनुपर्ने पनि उहाँको भनाइ छ ।