काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद झन् चर्कंदै गएको छ ।
सभापति शेरबहादुर देउवाले कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पे पनि विवाद मत्थर हुनुको साटो झन् बढेको हो । सोहीकारण केन्द्रीय समिति बैठकको एजेन्डा नै तय हुन नसक्दा मंगलबारको बैठकसमेत फेरि पनि सरेको छ ।
आजको बैठक सभापति देउवाको सम्बोधनका लागिमात्रै बसेको थियो। देउवाले लिखित मन्तव्यका क्रममा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारीसमेत सुम्पिएको घोषणा गर्नुभयो । तर उहाँ कार्यकारी भूमिकाबाट अलग भए पनि कांग्रेसमा विवाद चर्कँदै गएको छ ।
एक सातादेखि केन्द्रीय समिति बैठकको एजेन्डामा समेत तय हुन सकेको छैन भने नियमित र विशेष महाधिवेशन प्रस्तावका विषयमा मतभेद छ । महामन्त्री गगन थापा र नेता शेखर कोइरालानिकट नेताहरुले हस्ताक्षर संकलन गरेर बुझाउन खोजिरहेका छन् । तर संस्थापन पक्षका नेताहरुले भने हस्ताक्षरको विषयले पार्टीमा विग्रह ल्याउने दाबी गरिरहेका छन ।
विशेष महाधिवेशनको माग गर्दै २४ सय ८७ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेर आजै बुझाउन खोजेका थिए । तर कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बुझ्न मान्नु भएन । खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा रमेश लेखक र मुख्यसचिव कृष्णप्रसाद पौडेलबीच लामो समय छलफल भएको थियो । हस्ताक्षर संकलन गरेका प्रतिनिधिले होहल्ला र नाराबाजी समेत गरेका थिए ।
महामन्त्री शर्माले सभापति देउवाको सम्मानार्थ आज नएर भोलि बुझ्ने प्रतिबद्धता जनाएपछि प्रतिनिधि फर्किए । कांग्रेसमा नियमित कि विशेष महाधिवेशसा भन्ने विवादले चर्किँदै गएको छ । जसले गर्दा २६ असोजमा बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकसमेत सर्दै भएको छ ।
आजको बैठकमा लिखित मन्तव्य राख्दै सभापति देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउन सकिने बताउनुभयो । देउवाले तोकिएको मितिमा निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी नभएको देउवाको भनाइ छ ।