जनकपुर । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी बुधबार ४ः०० बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाएको हो । प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,“नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार माननीय मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिनको ४ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।”
यसअघि मुख्यमन्त्री सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै राजीनामा दिनुभएको थियाे । वर्तमान परिस्थितिमा मार्गप्रशस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा गरेको सिंहले घोषणा गर्नुभएकाे थियाे ।
आफ्नो अन्तिम वक्तव्यको अन्तिममा राजीनामाको घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गर्नुभयो ।