सहकारी ठगीमा संसदीय छानबिन समिति गठन र गृहमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेसको अडान कायमै

अनुसन्धानसमेत प्रभावित भएको आरोप
चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीमा संसदीय छानबिन समिति गठन र गृहमन्त्रीले राजीनामा दिनुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्न सरकार डराउनुले संशय पैदा भएको बताइन् । यस प्रकरणको अनुसन्धान पूर्ण रुपमा प्रभावित भएको उनको आरोप छ । सांसद गौतमले छानबिन समिति गठन गर्न सरकार डराउनुले संशय पैदा गरेको बताइन् । कांग्रेसले अनुसन्धान हुँदासम्म गृहमन्त्रीले जिम्मेवारीबाट बाहिर आउनुपर्ने र अनुसन्धानलाई सहयोग गर्नुपर्ने माग राखेको छ ।

बैठकमा एमाले सांसद ठाकुर गैरेले पाल्पाको रिब्दिकोटमा हत्या गरिएकी विद्यार्थीका परिवारलाई राहतको व्यवस्था गर्न पनि माग गरे । बैठकको शून्य समयमा सांसदहरुले तुइन विस्थापित गर्ने भनेर सरकारले घोषणा गरेको ९ वर्ष बितिसक्दा पनि विस्थापित हुन नसकेको भन्दै आवश्यक ठाउँमा पुलको व्यवस्था गर्न माग गरेका थिए ।

उनीहरुले संसद्‌मा उठेका विषयको पूर्ण रुपमा सम्बोधन हुने व्यवस्था गर्नुपर्ने, प्रदूषण कर बापतको रकम प्रदूषण नियन्त्रण गर्नुपर्ने, तराई-मधेशमा किसानको बाली नष्ट गर्ने निलगाइलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्नुपर्नेलगायत माग राखेका थिए । आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि (मंगलबार) बस्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.