भोटेकोशी बाढीले विद्युत् संकट, हिउँदमा भारतको बिजुलीको भर

आश्विन १२, २०८३ |सुदिल पोखरेल
भोटेकोशी बाढीले विद्युत् संकट, हिउँदमा भारतको बिजुलीको भर

काठमाडौं । भोटेकोशी तथा असोज ८ देखिकोे बाढीका कारण ९ सय मेगावाट भन्दा बढी विद्युत् अवरुद्ध भएकोमा भारतबाट आयात गरेर आपूर्ति सहज बनाइने भएको छ । 

भोटेकोशी बाढीका कारण ४ सय ३० मेगावाट र ४ सय ९० मेगावाट बिजुली प्रणाली बाहिर गएको अवस्थामा भारतबाट आपूर्ति गरेर सहज बनाउने विद्युत् प्राधिकरणले दाबी गरेको हो । तर, स्वदेशी बिजुली अपर्याप्त हुने समय हिउँद नजिकिँदै गर्दा प्राधिकरणलाई आगामी दिनमा बिजुली व्यवस्थापन गर्न हम्मेहम्मे पर्नेे देखिएको छ ।

गत वर्षको सुक्खा समयमा नेपालमा बिजुलीको खपत २२ सय ९२ मेगावाट थियो, जुन माग उच्च हुने समय हो । वाषिर्क खपत बृद्धि ८ देखि १० प्रतिशत भएको विगतको अवस्था हेर्दा यसवर्ष हिउँदमा यो माग २४ सय मेगावाटसम्म पुग्न सक्ने देखिन्छ । 

१२ सय १८ मेगावाट आन्तरिक रुपमा उत्पादन हुने र ११ सय ५४ मेगावाट भारतबाट आउँदा कुल २३ सय ७२ मेगावाट बिजुली उपलब्ध हुने प्राधिकरणको आकलन छ । तर, सबैभन्दा धेरै माग हुने काठमाडौं उपत्यकामा ७ सय मेगावाट कसरी उपलब्ध गराउने भन्ने प्राधिकरणको चिन्ता छ ।

आगामी मंसिरसम्म ३ सय २० मेगावाट बराबरको बिजुली प्रणालीमा थपिने र त्यो बेलासम्म कुल जडित क्षमता ४ हजार ६० मेगावाट पुग्ने प्राधिकरणको भनाइ छ । ३ सय २० मेगावाट मात्रै थपिए पनि सुक्खामा एक तिहाइमात्रै बिजुली उपलब्ध हुन्छ । 

गत वर्षसम्म काठमाडौं उपत्यकामा सुक्खा समयमा १ सय ५० मेगावाट बराबरको बिजुली आउने त्रिशुली करिडोरमा अहिले क्षति पुगेको छ । जसका कारण काठमाडौंको माग धान्नका लागि भूमिगत प्रणालीदेखि हालै निर्माण भएका अन्य सबस्टेसन चार्ज गर्नेसमेत प्राधिकरणको योजना छ ।

नेपालमा बिजुलीको उच्च माग हुने साँझको समयमा भारतले केही वर्षयतादेखि बिजुली दिन छाडेको छ । यति नै बेला हिउँदमा पनि ४५ मेगावाट उत्पादन हुने त्रिशुली थ्री ए र पानी जम्मा गरेर माग हुने समयमा चलाउन मिल्ने खालका त्रिशुली र चिलीमेमा पनि क्षति पुगेपछि काठमाडौंमा बिजुली व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । 

जसका लागि बुटवल गोरखपुर प्रसारणलाइनबाट पनि बिजुली ल्याउनुपर्ने विज्ञले सुझाव दिएका छन् । २ सय २० केभीको कालीगण्डकी करिडोरमा अहिले दुईवटा टावर ढलेका कारण ३ सय ५८ मेगावाट बराबरको बिजुली आपूर्ति प्रभावित भएका छन् । 

यसको मर्मतका लागि सरकारले प्राधिकरणलाई समयमै सहजीकरण गर्ने हो भने काठमाडौंसहित अन्य स्थानमा समेत बिजुली व्यवस्थापन गर्न सहज हुनेछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।