‘ओलीको वचन नै शासन’

किन यति धेरै ओली केन्द्रित छ नेकपा एमाले ?
फाल्गुन ९, २०८० |दशरथ राई
‘ओलीको वचन नै शासन’

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष ओली केन्द्रित हुँदै गएको छ कि अब उनले बोलेको कुरा नै पार्टीको नीति र विचार हुन थालेको छ । अर्थात् उनको वचन नै शासन हुन थालेको छ । राजनीतिक दलमा केन्द्रीय बैठकमा अध्यक्षसहितका जिम्मेवार पदाधिकारीले लिखित प्रतिवेदन पेस गर्ने र त्यसैका आधारमा छलफल हुने गर्छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले भन्दिए मेरो भाषण नै राजनीतिक प्रतिवेदन हो ।

नेकपा एमालेको मंगलबारको सातौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एक घण्टा भाषण गरे । लामो-लामो भाषण गर्ने ओलीको बानी थाहा भएका नेताहरु यो भाषणपछि राजनीतिक प्रतिवेदन आउला र छलफल गरौंला भनेर पर्खिरहेका थिए । तर जब ओलीले बुँदा टिपेर सुझाव दिन भने त्यसपछि बल्ल नेताहरुलाई थाहा भयो, त्यो भाषण त राजनीतिक प्रतिवेदन पो रहेछ । यसैलाई भन्छ- मेरो वचन नै शासन हो भन्दै शासन गर्ने शैली ।

बीच-बीचमा ओलीले नेताहरुको ध्यान मोबाइलमा गएको भन्दै बैठकलाई स्कुलसँग तुलना गरे र मोबाइल स्विच्ड अफ गरी ध्यान दिएर सुन्नसमेत निर्देशन दिए ।

राजनीतिक प्रतिवेदन भनिएको भाषणको अधिकांश समय दलहरुबीच मिल्न नसकेको टीआरसी विधेयक र सत्तागठबन्धन दलको आलोचनामा उनले खर्चिए । तर दिनभर पार्टी कार्यालयमा सरकार र अझ विशेष गरेर प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका ओली बैठक सकिनेबित्तिकै प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगे । किनकि सत्ता गठबन्धन जसरी पनि भत्काउने उनको ध्याउन्न छ ।

साढे दुई वर्षअघि चितवनमा भएको १०औं महाधिवेशनबाट पार्टीमा शक्तिशाली बनेका ओलीले जे बोल्यो, त्यही निर्णय हुने गरेको, जे उनी चाहन्छन्, त्यही नीति बन्ने गरेको भन्दै पार्टीभित्रै आलोचना हुँदै आएको छ । पार्टी विधानबाट ७० वर्षे उमेर हद हटाउने या राख्ने, उनकै इच्छाअनुसार भइरहेको छ भने विधान संशोधन पनि उनले भनेअनुसार नै भइरहेको छ ।

पछिल्लो समय एमालेको प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गराउने चाहनाविपरीत चुनाव भएको घटनालाई उनको पकड कमजोर हुँदै गएको रुपमा हेरिएको थियो । तर, मंगलबारको बेपरबाह भाषणलाई राजनीतिक प्रतिवेदनका रुपमा लिन उनले दिएको उर्दीलाई पार्टीमा पुनः प्रभावशाली रहने र बोलेका भरमा एक्लै शासन चलाउने मनोविज्ञानका रुपमा अर्थ्याइएको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।