फिफा विश्वकप : परम्परागत शक्ति र नयाँ टोलीबीचको दूरी घटेको हो ?

असार २०, २०८३ |अभय बस्नेत
फिफा विश्वकप : परम्परागत शक्ति र नयाँ टोलीबीचको दूरी घटेको हो ?

काठमाडौं । फिफा विश्वकपको इतिहासमै पहिलोपटक टोलीहरूले यसपालि राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गरे । 

जारी विश्वकपमा आज बिहानबाट यो चरण पनि सकिएको छ । आजबाट प्रिक्वार्टरफाइनल अर्थात् राउन्ड अफ १६ सुरु हुँदै छ । ४८ टोलीको नयाँ ढाँचाको विश्वकपले यसपालि केही अप्रत्याशित नतिजा पनि दिएको छ । विश्वकप विशेषमा आज हामी राउन्ड अफ ३२ को समीक्षा र राउन्ड अफ १६ को प्रिभ्यु गर्दै छौँ ।

विश्व फुटबलका हस्तीहरूमध्ये जर्मनी र नेदरल्यान्ड्सले यसपालि नराम्रो धक्का खाए । ५० वर्षदेखिको पेनाल्टी सुटआउटको अपराजित यात्रामा ब्रेक लगाउने गरी चारपटकको च्याम्पियन जर्मनी पराग्वेसँग स्तब्ध भयो । नेदरल्यान्ड्सलाई पनि मोरक्कोले टाइब्रेकरमै मात खुवायो ।

पाँचपटकको विश्वविजेता ब्राजिल पनि जापानविरुद्ध निकै संकटमा परेको थियो । धन्न गाब्रियल मार्टिनेलीको इन्जुरी समयको गोलले ब्राजिललाई पार लगायो । यता इजिप्टले अस्ट्रेलियालाई पेनाल्टीमा हराउँदै पहिलोपटक नकआउट चरणमा खेल जित्दै इतिहास रच्यो । 

साबिक विजेता अर्जेन्टिनालाई त डेब्युडेन्ट टोली केप भर्डे झन्डै झन्डै तगारो बनिसकेको थियो । अतिरिक्त समयमा दक्षिण अमेरिकी टोलीले ३-२ को कठिन जितसँगै संकट टार्‍यो । अन्तिम ३२ मा कोलम्बियाले घानालाई १-० ले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ भने बेल्जियमले सेनेगलविरुद्ध पुनरागमन गर्दै १२५ औँ मिनेटमा पेनाल्टीमार्फत जित हात पार्‍यो ।

यो विश्वकपले परम्परागत शक्ति र नयाँ टोलीबीचको फुटबलिङ क्वालिटीको दूरीसमेत घट्दो क्रममा रहेको देखाएको छ । क्यानडा, मेक्सिको र अमेरिका तीनै आयोजक राष्ट्र अन्तिम १६ मा पुग्नुले यसपटक घरेलु मैदानको महत्त्व पनि मज्जैले उजागर गरेको छ ।

अब कुरा गरौँ राउन्ड अफ १६ बारे । पहिलोपटक नकआउट जित हात पारेको क्यानडा र २०२२ को सेमिफाइनलिस्ट मोरक्को अन्तिम १६ को पहिलो खेलमा आमनेसामने हुँदै छन् । क्यानडाको हाई प्रेसिङ र मोरक्कोको बलियो काउन्टर अट्याकबीचको लडाइँ रोचक हुने अपेक्षा छ ।

त्यस्तै, जर्मनीलाई हराएर अन्तिम १६ मा पुगेको पराग्वेले उपाधि दाबेदार फ्रान्सको सामना गर्दैछ । एमबाप्पे, ओलिसे र डेम्बेलेलाई रोक्नु पाराग्वेको रक्षापंक्तिका लागि अग्निपरीक्षा हुनेछ । ब्राजिल भर्सेस नर्वे, यो भिडन्त भिनिसियस जुनियर र अर्लिङ हालान्डबीचको पनि हो । ब्राजिलका पाक्वेटा र राफिन्हा घाइते हुनु नर्वेका लागि मौका हुन सक्छ ।

त्यसैगरी, मेक्सिकोले इङ्ल्यान्डलाई चुनौती दिनेछ । ह्यारी केन यस खेलमा इङ्ल्यान्डको मुख्य हतियार हुनेछन् भने घरेलु समर्थक मेक्सिकोका लागि बलियो पक्ष हुनेछ । अन्तिम १६ को सबैभन्दा बहुप्रतीक्षित खेलमा युरोपेली पावरहाउस स्पेन र पोर्चुगल भिड्दै छन् । 

'इबेरियन डर्बी' नामले चिनिने यो खेलमा ४१ वर्षीय रोनाल्डो र १८ वर्षीय लमिन यमालबीचको भिडन्त हेर्न पाइनेछ । घरेलु समर्थकको साथ पाएको अमेरिका र बेल्जियमको 'गोल्डेन जेनेरेसन' बीचको खेल र स्विजरल्यान्ड भर्सेस कोलम्बियाको भिडन्तमा कसले बाजी मार्ला भन्न कठिन छ । 

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र अफ्रिकी पावर हाउस इजिप्टविरुद्धको खेल पनि राउन्ड अफ १६ मा निकै प्रतीक्षित छ । अर्जेन्टिना मेस्सीमा बढी निर्भर देखिए पनि इजिप्टले रक्षात्मक खेल खेल्दै काउन्टरमा ध्यान दिनेछ । प्लेयर्स टु वाचको कुरा गर्दा यस चरणमा सबैको नजर लियोनल मेस्सी, किलियन एमबाप्पे र अर्लिङ हालान्डमा हुनेछ । 

मेस्सी ७ गोलका साथ गोल्डेन बुटको दौडमा अगाडि छन् भने एमबाप्पे ६ र हालान्ड ५ गोलसहित पछ्याइरहेका छन् ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।