
सल्यान । कुनै बेला हिलाम्मे-धुलाम्मे हुने सल्यानको थारमारे-बडागाउँ-रागेचौर-चौरजहारी सडकमा यात्रा गर्नु निकै कष्टकर थियो ।
सवारीसाधन बीच बाटोमै फस्ने, यात्रु घण्टौँसम्म अलपत्र पर्ने र सडकछेउका बासिन्दाले धूलोको सास्ती खेप्नुपर्ने अवस्था सामान्यजस्तै थियो । तर, अहिले कालोपत्रे सडकले स्थानीयको दैनिकी सहज बनाउनुका साथै विकासको गतिलाई समेत नयाँ दिशा दिएको छ ।
सल्यानको थारमारे-बडागाउँ-रागेचौर-चौरजहारी सडकअन्तर्गत थारमारेदेखि कुमाख गाउँपालिकाको चिसापानीसम्म करिब ३२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्डमा पनि निर्माण कार्य तीव्र छ । लामो समयसम्म धुलो र हिलोको समस्या झेलेका स्थानीय अहिले सहज र सुरक्षित यातायात सेवा लिइरहेका छन् ।
२०६२/०६३ मा ट्रयाक खोलिएको यो सडक वर्षौँसम्म स्तरोन्नतिको प्रतीक्षामा रह्याे। सडक कालोपत्रे नहुँदा यात्रु, सवारीचालक र स्थानीयले सास्ती भोग्नुपरेको थियो । २०७७ सालदेखि कालोपत्रेको काम सुरु भएको सडक अहिले चिसापानीसम्म पुगेको छ ।
सल्यानलाई रुकुमपश्चिमको चौरजहारीसँग जोड्ने यो सडक क्षेत्रीय विकासका दृष्टिले महत्वपूर्ण छ । सडक कालोपत्रे भएपछि यात्रा समय घटेको छ, सवारी सञ्चालन सहज बनेको छ भने यातायात खर्चसमेत कम हुन थालेको छ । सडक सहज भएसँगै ग्रामीणको क्षेत्र आर्थिक गतिविधि चलायमान बनेको छ ।
२०७७ सालदेखि कर्णाली प्रदेश सरकारको बजेटअन्तर्गत पूर्वाधार विकास कार्यालय सल्यानमार्फत थारमारेको जिरो पोइन्टबाट कालोपत्रे सुरु गरिएको हो । सडकलाई चार खण्डमा बाँडेर ठेक्का व्यवस्थापन गरिएको थियो । चिसापानी नजिकसम्मको अधिकांश काम सम्पन्न भइसकेको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार आगामी मंसिरभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । दशकौंको प्रतीक्षापछि कालोपत्रे सडकको सुविधा पाएका यहाँका बासिन्दाको अपेक्षा अब बाँकी खण्डको काम पनि निर्धारित समयमै सम्पन्न होस् भन्नेछ । कुमाख गाउँपालिकाको रागेचौर, स्यानीपिप्ली हुँदै चौरजहारीसम्मको बाँकी सडक खण्डमा सडक डिभिजन कार्यालय चौरजहारी र सडक डिभिजन कार्यालय दाङमार्फत निर्माण कार्य भइरहेको छ ।
सडक पूर्वाधारको विस्तारसँगै दुर्गम क्षेत्रका बासिन्दाले विकासको अनुभूति गर्न थालेका छन्।