
काठमाडौं । असार ७ देखि सुरु भएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन पाँच दिन पुग्दा पनि सकिएको छैन । भरतपुर गेस्ट हाउस चौरमा भव्य रूपमा उद्घाटन गरेको रास्वपाको बन्दसत्र भने निकै भद्रगोल देखियो । महाधिवेशन तालिकाअनुसार मंगलबार नयाँ नेतृत्व चयन हुनुपर्थ्यो । तर, आयोजक समितिको व्यवस्थापकीय कमजोरीका कारण देश विदेशबाट आएका महाधिवेशन प्रतिनिधि करिव ३८ डिग्री हाराहारीको चर्को गर्मीको सिकार बन्न त पुगे नै कतिपय मतदान नै नगरी घर फर्किए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि भएको पहिलो चरणको मतदानमा २३ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी नै भएनन् । कुल मतदाता ३ हजार ८ सय ४९ रहेकामा २ हजार ९ सय ५९ मत मात्र खसेको छ । यो प्रवासबाहेकको मतदान संख्या हो । नेतृत्व चयन प्रक्रिया ढिलो भएपछि असन्तुष्टि जनाउँदै कतिपय प्रतिनिधिहरू मतदानै नगरी घर फर्किएका हुन् । पार्टीको निर्वाचन आयोगको कमजोरी र व्यवस्थापकीय लापरबाहीले आफूहरू बेखर्ची हुनुपर्ने अवस्था आएको प्रतिनिधिहरूको गुनासो थियो ।
रास्वपाका नेता मनीष झाले पनि केही प्रतिनिधि घर फर्किएको स्वीकार गर्नुभएको छ । झाका अनुसार प्रतिनिधि संख्या भेरिफिकेसनका क्रममा केही घटेको थियो । आफूहरू धेरै प्रतिनिधि फर्किइसके कि भनेर तर्सिए पनि मतदानमा भएको उपस्थिति सन्तोषजनक नै भएको उहाँ बताउनुहुन्छ । साथै व्यवस्थापकीय कमजोरीका लागि आफूहरू लज्जित नै भएको बताउनुभएको छ ।
कार्यतालिकाअनुसार हुन्थ्यो त रास्वपाको नेतृत्व चयनका लागि मतदान मंगलबारै सुरु हुन्थ्यो । तर बल्ल बल्ल बुधबार मध्यरातिदेखि मतदान भयो । तर आयोजकको कमजोरीका कारण एकातिर देशका विभिन्न भागबाट आएका प्रतिनिधिहरू क्रुद्ध त भए नै अर्कोतिर यसले आर्थिक भार पनि दुई करोड रुपैयाँ थप गर्यो ।
हुन त महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि नयाँ पार्टी भएकाले अनुभवको कमीका कारण कमजोरी भएको स्विकार्नुभएको छ । तर अनुभवको कमी एक वा दुई वटा मात्र सीमित छैन । महाधिवेशन प्रतिनिधि छनोट, परिचयपत्र वितरण, नामावली अध्यावधिक, उम्मेदवारी दर्तालगायत विषयमा प्रतिनिधिहरूको प्रश्नै प्रश्न छ । सांसदसमेत रहनुभएका गणेश कार्कीले त आफ्नो प्रश्न सामाजिक सञ्जालमै राख्नुभएको छ । प्रारम्भिक सूचीमा मभन्दा तल दर्ता भएकाहरूको नाम मेरोभन्दा माथि कसरी भयो ?
के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ? कार्कीको प्रश्न छ ।
अर्का सांसद राजिव खत्रीले पनि आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य मत दिनुपर्ने प्रावधानप्रति सामाजिक सञ्जालमै लेखेर आपत्ति जनाउनुभएको छ ।
सांसद टीका संग्रौला ज्वालाले त आफ्नो पूरा नाम नराखेको र उम्मेदवार क्रम संख्या नमिलाएको भन्दै निर्वाचन आयोगमा उजुरी नै दिनुभएको छ । यस्ता गुनासो र प्रश्न अरू थुप्रै प्रतिनिधिको छ ।
हुन त पहिलो अनुभवमा त्रुटि हुनु स्वाभाविकै हो । कमजोरीबाटै सिक्दै जाने हो । तर राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन त्रुटिभन्दा बढ्दा भद्रगोलकै स्थिति देखियो । जुन परिस्थिति नेतृत्वले गरेको नजरअन्दाज र कमजोरी तयारीको परिणाम हो । रास्वपा देश बदल्ने सपनासहित राजनीतिमा आएको हो । तर महाधिवेशनको गन्जागोलले उसको सपनाको धरातलको बलियोपनमै प्रश्न उठाएको छ ।