महाधिवेशनबाट रास्वपाका ६ सन्देश

असार १२, २०८३ |दशरथ राई
महाधिवेशनबाट रास्वपाका ६ सन्देश

काठमाडौं । ५ रात ६ दिन लगाएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन सम्पन्न गर्‍यो। 

महाधिवेशनमार्फत रास्वपाले एकसाथ पार्टीको संरचना, विचार र संगठनबारे प्रष्ट सन्देश दिएको हो । रवि लामिछाने नेतृत्वमा चार वर्षअघि गठित रास्वपालाई महाधिवेशनले संस्थागत मात्र गरेको छैन, पार्टीको आगामी दिशाबारे पनि सन्देश दिने प्रयास गरेको छ। 

अर्कोतर्फ रास्वपा महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थादेखि प्रदेश र स्थानीय तहको पुनसंरचनाको मुद्दामा पार्टी नेतृत्वको धारणा सार्वजनिक गरेर यसमाथिको बहसको नेतृत्व लिएको सन्देश दिएको छ।

चितवनमा सम्पन्न महाधिवेशनमार्फत रास्वपाले दिएका केही महत्वपूर्ण सन्देशबारे दशरथ राईले विश्लेषण गर्नुभएको छ।

पहिलो सन्देश : पार्टी संस्थागत गर्ने विधिवत् अभ्यास

२०७९ साल असार ७ गते रवि लामिछानेले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीलाई संस्थागत गरेको छ । चार वर्षदेखि तदर्थमा चल्दै आएको पार्टी संरचनाले औपचारिक विधिमा पूर्णता पाएको छ ।

दोस्रो सन्देश : आन्तरिक लोकतन्त्रप्रतिको प्रतिबद्धता

सभापतिसहित ९९ जना केन्द्रीय सदस्यहरु महाधिवेशनमार्फत चुनिएका छन्। पदाधिकारीमध्ये केहीमा निर्वाचन भयो, केहीमा निर्विरोध। यसक्रममा भएका केही विवाद र रस्साकस्सीलाई सामान्य राजनीतिक अभ्यास मान्ने हो भने नेतृत्व चयनमा अपनाइएको विधि पार्टीको नेतृत्व चयनमा रास्वपाले लोकतान्त्रिक विधिलाई अपनाएको देखियो।

तेस्रो सन्देश : विचारमा प्रष्टता

रास्वपाले पार्टीको वैचारिक आधारलाई प्रष्टता दिएको छ। पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनको पक्षमा उभिँदै रास्वपाले वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूतिसहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन भनेको छ । 

समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र प्रतिस्पर्धात्मक सामाजिक बजार ब्यवस्था भनेको छ । शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरु हासिल गर्दै राष्ट्रिय नीति तथा कार्यक्रममा आधारित राज्य सञ्चालन गर्ने संवैधानिक समाजवाद पार्टीको मार्गदर्शक सिद्धान्त हुने रास्वपाले प्रष्ट पारेको छ। यसलाई उसले थप व्याख्या गर्न भने बाँकी नै छ।

चौथो सन्देश : नेतृत्वमा महिलाको उत्साहजनक प्रतिनिधित्व

केन्द्रीय समितिमा प्रतिस्पर्धामार्फत ५० प्रतिशतभन्दा बढी महिला चुनिएका छन्। यो अन्य राजनीतिक दललाई समेत रास्वपा प्रतिनिधिहरुले दिएको गतिलो सन्देश हो। प्रतिस्पर्धाबाट चुनिने ९९ जना केन्द्रीय सदस्यहरुमध्ये आधाभन्दा बढी महिला सदस्य जिताएर ३३ प्रतिशतको कोटालाई रास्वपा महाधिवेशनले चुनौति थपिदिएको छ। मनोनयनमार्फत आउने विभिन्न समूदायको प्रतिनिधित्वले रास्वपाको समावेशी अनुहार थप प्रष्ट पार्नेछ।

पाँचौं सन्देश : सरकारबारे रवि र वालेन प्रष्ट

सरकारको नेतृत्व समेत गरिरहेको रास्वपाभित्र सरकार सञ्चालनमा नेतृत्वबीच आन्तरिक किचलो केही छैन भन्ने सन्देश समेत महाधिवेशन उद्घाटन सत्रबाट सन्देश प्रवाह गर्न नेतृत्वले प्रयास गर्‍यो। सभापति लामिछानेले सरकार सञ्चालनको बल आफ्नो खुट्टामा आए पनि त्यो बल वरिष्ठ नेताकै खुट्टामा फर्काइदिने सार्वजनिक अभिव्यक्ति दिनुभयो ।

व्यवहारमा पनि त्यही कायम रहे यसले सरकार र पार्टीको नेतृत्व भिन्न रहन सक्छन् भन्ने उसले स्थापित गर्नेछ।

छैटौं सन्देश: संविधान संशोधन बहसमा अगुवाइ

महाधिवेशनमार्फत रास्वपाले संविधान संशोधनको बहसलाई केन्द्रमा ल्याइदिएको छ। यतिमात्र होइन, बहसको अगुवाइ नै उसैले लिने प्रष्ट सन्देश उसले दिएको छ। प्रत्यक्ष कार्यकारीको व्यवस्थासहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेश र स्थानीय तहको पूर्नसंरचना र राष्ट्रिय सभामा गैरदलीय विशेषज्ञ रहने र त्यसको अध्यक्षता उपराष्ट्रपतिले गर्ने- रास्वपाले अघि सारेका यी विषयले संविधान संशोधनको बहसलाई तिव्र बनाउनेछ। 

यति हुँदाहुँदै पनि रास्वपा महाधिवेशन केही आलोचित पनि बन्यो। तीन दिनका लागि महाधिवेशन छैटौं दिनमा सकियो। रास्वपा महाधिवेशन आयोजक समितिको व्यवस्थापकीय कमजोरीका कारण नेताहरुले लज्जित नै हुनुपरेको अभिव्यक्ति दिनुपर्‍यो। प्रतिनिधिको नाम विवाददेखि निर्वाचनमा भएको ढिलाइले नेतृत्वदेखि व्यवस्थापनको जिम्मा पाएकाहरुमाथि प्रश्न उठ्यो। 

उसो त यो रोग नेपाली कांग्रेस, नेकपा एमालेजस्ता दलमा अझै व्याप्त छ। अर्कोपटक सुधार गर्ने प्रतिबद्धता भने आएकै छन्। महाधिवेशनको उद्घाटनमै सभापति र वरिष्ठ नेताले मञ्चबाटै कार्यकर्तालाई समूह र गुटगत राजनीतिको बिउ नरोप्न प्रष्ट सन्देश दिनुभयो ।

तर, अन्तिम दिनसम्म आइपुग्दा नेतृत्वले नै समूहको राजनीतिलाई प्रश्रय दिएको आरोप लाग्यो। स्पष्ट छ, संस्थापन समूह भन्दै पदाधिकारीका आकांक्षीहरुलाई सहमतिमा ल्याउने नेतृत्वकै अभ्यासले पार्टीमा समूह वा गुट राजनीतिको बिउ भने रोपिइसकेको देखिन्छ।

पहिलोपटक भएको महाधिवेशन हुँदा स्वभाविक हो, जो धेरै देखिन्छन् उनै नेता बन्छन्। महाधिवेशन प्रतिनिधिले नेतृत्वमा सांसद, मन्त्री र सामाजिक सञ्जाल र मिडियामा छाएकै अनुहारहरुलाई छाने। तर, त्यसो हुँदा पनि धेरैले युवालाई रोज्नुलाई सकारात्मक मान्न सकिन्छ। 


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।