
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको विषयमा सत्तारुढ तथा विपक्षी दलले आलोचना गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याएको टिप्पणी गरेका छन् । उनले दाहालले खुला प्रतिस्पर्धाबाट निष्पक्ष रुपमा नियुक्त गर्छु भनेर राजनीतिक भागबन्डा गरेको आरोप लगाए ।
विश्वविद्यालय सुधार गर्न उपकुलपति नियुक्तिदेखि नै ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले यसपटक आएको राम्रो अवसर पनि गुमेको बताए । प्रधानमन्त्रीले चाहेमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने उनको भनाइ छ ।
यस्तै, काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले उपकुलपतिमा भागबन्डा मात्र नभई एकलौटी गरेको टिप्पणी गरेका छन् । छनोट समिति बनाउने नाममा असफल साबित भइरहेका व्यक्तिलाई छनोट गरिएको उनको दाबी छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपकुलपति छनोट प्रक्रियाप्रति नै प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत छनोट समितिका तीन जनामध्ये शिक्षामन्त्री र शिक्षासचिव कसरी स्वतन्त्र प्राज्ञिक व्यक्ति भए भन्दै टिप्पणी गरेका छन् ।
यो पनि...
प्रधानमन्त्रीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपति नियुक्त गर्दै छन् : केपी ओली