कोशी खेलकुद विकास बोर्ड ७ महिनादेखि सदस्य सचिवविहीन

खेलकुद गतिविधि प्रभावित
वैशाख १६, २०८३ |अर्जुन सुवेदी
कोशी खेलकुद विकास बोर्ड ७ महिनादेखि सदस्य सचिवविहीन

सुनसरी । कोशी प्रदेश खेलकुद विकास बोर्डमा पछिल्लो करिब ७ महिनादेखि सदस्यसचिव नियुक्त हुन नसक्दा प्रदेशभरिका खेलकुद गतिविधि प्रभावित बनेका छन् ।

भागवण्डा र दलगत स्वार्थका कारण नेतृत्वविहीन बनेको बोर्डले नियमित काम गर्न नसक्दा जिल्लास्तरीयदेखि प्रदेशस्तरीय प्रतियोगितासम्म अन्योलमा परेका छन् । प्रदेशका विभिन्न स्थानीय तहले विद्यालयस्तरबाटै 'राष्ट्रपति रनिङ शिल्ड' प्रतियोगिताका लागि खेलाडी छनोट गरिसकेका छन् । 

तर, बोर्ड नेतृत्वविहीन हुँदा जिल्ला छनोट प्रक्रिया अघि बढ्न सकेको छैन । बोर्डले जिल्ला छनोटका लागि छुट्याइएको बजेट नै निकासा गर्न नसक्दा छनोट प्रक्रिया अलपत्र परेको हो । चालुआर्थिक वर्ष सकिन साढे २ महिनामात्रै बाँकी रहँदा विभिन्न खेलकुदका लागि छुट्याइएको बजेट समेत फ्रिज हुने जोखिम बढेको छ ।

आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसमेत प्रभावित बनेको छ । सामान्यतया राष्ट्रिय प्रतियोगिताअघि प्रदेशस्तरमा प्रशिक्षण, छनोट र तयारी तीव्र बनाइन्छ । तर, कोशी प्रदेशमा नेतृत्व अभावकै कारण ती सबै प्रक्रिया ठप्पजस्तै छन् । समयमै तयारी हुन नसक्दा प्रदेशको समग्र प्रदर्शन बिगतकै जस्तो कमजोर हुने चिन्ता खेलकर्मीहरूले व्यक्त गरेका छन् । 

प्रदेशका विभिन्न सहरमा आयोजना हुने गोल्डकप तथा अन्य प्रतियोगिताहरू पनि बजेट अभावका कारण प्रभावित भएका छन् । बोर्डमार्फत वितरण गरिने अनुदान नपाउँदा आयोजकहरू आर्थिक संकटमा परेका छन् ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।