काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उपकुलपति छनोटमा भागबन्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्ध भइसकेको व्यक्तिलाई उपकुलपति बनाउन लागेको ओलीको जिकिर छ । काठमाडौंमा सोमबार आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको पाँचौं राष्ट्रिय सहकारी भेलामा उनले तीनजना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनोट गरेर सरकारले तीमध्ये पनि सबभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको दाबीसमेत गरे ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले उपकुलपतिका लागि चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । त्यसमा पनि तेस्रो नम्बरका व्यक्ति उपकुलपति हुने ओलीको अनुमान छ । अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसकै काम गर्न पनि पछि नपरेको दोहोर्याए ।
‘गठबन्धनका सबै सत्ताका लागि जेसुकैमा पनि कम्परमाइज गर्नेहरु हुन् । जेका लागि पनि कम्परमाइज गर्दछन् । त्यो खालको स्थिति अझै पनि छँदै छ । अहिले त नयाँ तरिका निकालेको छ- भागबन्डा नगर्ने, एकलौटी गर्ने । अहिलेचाहिँ मेरिटोक्रेसीका आधारमा लिने, एउटा समिति बनाउने, छानबिन गर्ने, यताउता गर्ने । अनि, असफलसिद्ध भइसकेका मान्छेहरुको छनोट गर्ने,’ ओलीले भने, ‘अहिले तीनजना सिफारिस भएको छ क्यार । तीनजनामा पनि तेस्रो नै नियुक्त होलाजस्तो लाग्छ मलाई त छाँटकाँट हेर्दा । किनभने अलि बढ्तै असफल भएको मान्छे चाहियो नि । त्यसो भएर तृतीय नम्बरको चाहिँ नियुक्त हुनुहोला कि जस्तो मेरो अनुमान नहुन पनि सक्ला । यो खालको स्थिति अहिले पनि छ ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक थिति पनि भत्काउँदै गएको आरोपसमेत लगाए । उनले भने, ‘डेमोक्रेटिक म्यानर, डेमोक्रेटिक बिह्याबिअर, डेमोक्रेटिक प्राक्टिस अझै पनि नेपालमा स्थापना हुन सकेन । हामीले बसालेको लोकतान्त्रिक थिति पनि गठबन्धनले भत्काउँदै छ, उप्काउँदै छ । सबै थितिहरु फ्याँक्दै छ ।’ उनले नेपाल जस्तो देशको विकासका लागि सहकारी अपरिहार्य रहेको उल्लेख गर्दै त्यसलाई बद्नाम हुन नदिन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए ।