
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानले वर्षौंदेखि सिँचाइ अभाव झेल्न बाध्य भएका छन् ।
खोलाबाट अनियन्त्रित रूपमा ढुंगागिट्टी र बालुवा निकालिँदा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलोहरूमा पानी नचढेपछि किसान सिँचाइ अभाव झेल्न बाध्य हुन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने यो फाँट हिउँद बर्खा सबै सिजनमा किसानको मिहिनेत फल्ने प्रमुख खेतीयोग्य जमिन हो ।
इन्द्रावतीका भीमटार, भोटसिपा, न्यौपानेटार, बिसदेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाको मेलम्ची बजार, बाहुनेपाटी, फटकशिला, फट्केश्वरलगायतका गाउँका किसानले वर्षभरि धान, गहुँ, मसुरो, तोरी, आलु र मकैजस्ता बाली लगाउँदैआएका छन्। तर, पछिल्लो एक दशकयता क्रसर उद्योगहरूको प्रभावका कारण उनीहरू मर्कामा पर्न थालेका छन् ।
फाँटको मध्य भागमा उद्योगबाट उड्ने बालुवा मिश्रित धूलोले खेतीयोग्य जमिनको उत्पादकत्व क्रमशः घटाउँदै लगेको छ भने जथाभावी उत्खननका कारण सिँचाइका लागि प्रयोग हुने कुलोहरू सुक्दै जाँदा खेतमा पानी पुग्न छाडेको छ । यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहानसमेत सुक्दै गएका छन् भने बर्षेनि खेतको आकार पनि साँघुरिदै गएको छ ।
बस्तीसँगै जोडिएर सञ्चालनमा रहेका यी उद्योगबाट निस्कने धुलोले बाली राम्रोसँग नफस्टाउने समस्या थपिएको छ । साथै सिँचाइका कुलोमा पानी घट्दै जाँदा कृषि पेशा नै संकटमा पर्ने अवस्था आएको किसानहरूको गुनासो छ । खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो-माटोका कारण इन्द्रावती वर्षभरि नै धमिलो बग्न थालेको छ।
खेतछेउको सार्वजनिक कुलो मासिएको छ। खोलाबाट गिटी बालुवा निकाल्ने क्रममा कुलो पुरिन्छ र त्यसको सिधा असर किसानले नै भोग्नुपरेको छ। नदी किनारमा क्रसर उद्योगहरू नफस्टाउँदासम्म सिँचाइको कुनै समस्या थिएन। यी उद्योगहरूकै कारण उर्वर फाँटहरू विस्तारै रुखो भन्दै गइरहेका भन्दै किसानहरू चन्तित छन् ।