चार घण्टा हिँडेर स्कुल : पाल्पाका दुर्गम गाउँका बालबालिका अझै शिक्षाबाट टाढा

वैशाख १६, २०८३ |माधव अर्याल
चार घण्टा हिँडेर स्कुल : पाल्पाका दुर्गम गाउँका बालबालिका अझै शिक्षाबाट टाढा

पाल्पा । पाल्पाको माथागढी, पूर्वखोला, निस्दी, तिनाउ गाउँपालिकाका दर्जन बढी दुर्गम गाउँबस्तीका विद्यार्थी अझै पनि दैनिक चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्न बाध्य छन् । 

नजिकै प्राथमिक, आधारभूत र माध्यमिक तहको विद्यालय नहुँदा दुर्गम गाउँटोलका अधिकांश विद्यार्थीको दैनिकी कष्टकर हुने गरेको हो। पाल्पाको माथागढी गाउँपालिका ८ बहादुरपुरकी दिलमाया गाहाको छोरा गोविन ५ वर्षको हुनुभयो । उहाँ अहिले १ कक्षामा पढ्नुहुन्छ । 

उहाँजस्तै बेतिनी, टोक्लोक्दी, किहुँडाँडाका विद्यार्थीलाई १ कक्षामा पढ्न विद्यालय जान दैनिक चार घण्टा हिड्नुपर्छ । बेतिनीका २२ जना विद्यार्थी दैनिक चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्छन् । विद्यालय टाढा भएपछि केही विद्यार्थी त बाटोमै लुकेर, खेलेर घर फर्किने गर्छन्। 

पूर्वखोला गाउँपालिका जल्पाको आर्गीडाँडा, साठीकोल लगायतका गाउँका विद्यार्थीको पनि समस्या उस्तै छ । निस्दी गाउँपालिकाको ज्यामिरेका विभिन्न स्थानका साथै तिनाउ गाउँपालिकाको हरियाली गाउँ, महापुर, हापुरलगायतका एक सयभन्दा बढी घरका विद्यार्थीलाई ६ कक्षासम्म पढ्न दैनिक चार घण्टा हिाड्नुपर्छ ।

आधारभूत तहका विद्यालय गाउँमा नहुँदा १ कक्षा पढ्ने विद्यार्थीलाई विद्यालय पुग्न कम्तीमा दुई घण्टा लाग्छ । जसले गर्दा दैनिकी कष्टकर हुन्छ। पढाइकै लागि आमा र बच्चा डेरा लिएर बस्नुपर्ने बाध्यता छ । दूरी लामो भएकाले स-साना बालबालिकालाई समस्या हुने नै भयो । 

बर्खामा कपडा नभिजेको दिनै हुँदैन । त्यसैले उनीहरू झोलामा लुगा बोकेर हिँड्छन् । लामो बाटो र अल्लारे बुद्धिले गर्दा विद्यालय नजाने, बाटोबाटै फर्किने समस्या छ। जसले गर्दा ड्रप आउटको समस्या झनै चर्को छ । शिक्षा नियमावलीले पहाडी क्षेत्रमा विद्यालय खोल्न कम्तीमा ४० जना विद्यार्थी हुनुपर्छ भनेको छ । तर, पहाडी जिल्लाका अधिकांश दुर्गमा गाउँमा २५ जनाभन्दा बढी विद्यार्थी छैनन् । 

त्यस्तै यो नियमावलीले कक्षा ५ सम्म पढ्ने बालबालिकाको ३० मिनेटको दूरीमा विद्यालय पहुँच हुनुपर्छ पनि भनेको छ । तर बालबालिकालाई घण्टौं हिँड्नुपर्ने बाध्यताले यो मापदण्डलाई गिज्याइँरहेको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।