धनकुटा नगरपालिकाद्वारा आगामी आवका लागि बजेट निर्माण प्रक्रिया सुरु

वैशाख १६, २०८३ |विनोद घिमिरे
धनकुटा नगरपालिकाद्वारा आगामी आवका लागि बजेट निर्माण प्रक्रिया सुरु

धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया सुरु गरेको छ ।

नगरपालिकाले आउँदो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने कार्यक्रमका लागि वडा, विषयगत शाखा तथा विभिन्न समितिबाट योजनाको प्रस्ताव र सुझाव माग गरेको हो । धनकुटा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम गौतमका अनुसार नगरका १० वटै वडालाई वैशाख २० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने योजना र बजेटसम्बन्धी सुझाव पेस गर्न निर्देशन दिइएको छ। 

विषयगत शाखा र समितिहरूलाई पनि आफ्नो क्षेत्रगत प्राथमिकता, आवश्यक आयोजना र बजेटको खाका तयार पार्न भनिएको गौतमको भनाइ छ । यसपटकको बजेट निर्माण प्रक्रियामा स्थानीय आवश्यकता र सुझावलाई प्राथमिकता दिइने गौतमले जानकारी दिनुभयो। 

पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना र सुशासनका क्षेत्रमा केन्द्रित योजना समेट्ने तयारी भइरहेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले ९४ करोड ९८ लाख रुपैयाँको बजेट स्वीकृत गरेकोमा हिउँदे अधिवेशनमार्फत संशोधन गरी बजेट घटाएर ८६ करोड ३८ लाख ८८ हजार रुपैयाँ कायम गरिएको थियो। 

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा आगामी वर्षको योजना अझ यथार्थपरक र परिणाममुखी बनाउने गृहकार्य भइरहेको गौतमको भनाइ छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।