केपी ओलीको ‘मिसन-८४’

माघ ८, २०८० |दीपक आचार्य
केपी ओलीको ‘मिसन-८४’

काठमाडौं । २०८४ सम्म गठबन्धन नभत्किएमा निर्वाचनअघि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्न सक्दैनन् । तर ८४ पछि पनि प्रधानमन्त्री बन्न ओलीका अगाडि धेरै वटा तगारा छन् । यिनै तगाराका कारण ओली अहिले नै प्रधानमन्त्री बन्ने मिसनमा लागेका त होइनन् ? ८४ पछि ओली प्रधानमन्त्री बन्न कुन-कुन सर्तहरु पूरा हुनुपर्छ ।

सर्त नम्बर १ :

२०८४ मा एमालेले बहुमत ल्याउनुपर्छ । त्यो सम्भावना कत्तिको छ त ?

एमालेले चार वर्षपछि हुने चुनाव लक्षित मिसन-८४ भन्दै झुलाघाटदेखि चिवाभञ्याङसम्मको अभियान चलाएको थियो । अभियानमा उनले एक्लै बहुमत ल्याउने उद्घोष समेत गरेका थिए । तर अभियानका क्रममा उनले पार्टीको जनमत खस्किएको देखेपछि अहिले ८४ पर्खन नसकिने भनिरहेका छन् ।

अझ गठबन्धन कायमै रहे आफ्नो पार्टीको मत बढ्ने आधार ओलीले देखेका छैनन् । ७९ सालको निर्वाचनमा एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ पाएको थियो । तर सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रको मतलाई एकठाँउमा जोड्ने हो भने त्यो संख्या ३८ लाख ४५ हजार ५ सय ५९ छ ।

यसकारण एक्लै बहुमत ल्याएर प्रधानमन्त्री बन्ने सम्भावना नदेखेका ओलीको मिसन नम्बर १ के हो भने अहिले नै प्रधानमन्त्री बन्ने ।

सर्त नम्बर २

वर्तमान गठबन्धन भत्किएर एमालेको नेतृत्वमा नयाँ गठबन्धन बन्नुपर्छ । त्यसको सम्भावना कत्तिको छ त ?

गत वर्षको पुस १० गते आफ्नै जोडबलमा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन गरेका थिए । तर त्यसबेलाको गठबन्धनलाई ओलीले टिकाउन सकेनन् । प्रधानमन्त्री दाहालले कांग्रेससँगको पुरानै गठबन्धन कायम गरेपछि ओली आक्रोसित मात्र भएका छैनन्, दाहाललाई जसरी पनि हटाउन चाहन्छन् ।

प्रतिपक्षमा बस्दा जनमत झन् खस्कने बुझेका ओली संसद्को बाँकी चार वर्षको कार्यकालमा जसरी हुन्छ प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसकारण गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालसँग बदला लिने त छँदै छ आफ्नो दललाई सरकारमा पुर्याउने ध्याउन उनमा छ । एमालेसँगको गठबन्धन तोडेको रिस फेर्न ओली बरु कांग्रेसलाई प्रधानमन्त्री दिन तयार छन् ।

यसकारण ओलीको मिसन नम्बर २ के-हो भने अहिलेको गठबन्धन भत्काएर नेतृत्व लिने ।

सर्त नम्बर ३

८४ पछि पार्टीको विधान बाधक बन्न सक्ने सम्भावना । त्यसकारण अहिले नै प्रधानमन्त्री बन्ने ।

उमेरका हिसाबले पनि अर्को निर्वाचनसम्म ओली पर्खन सक्ने अवस्थामा छैनन् । ओली ७० वर्ष पुगिसकेका छन् । पार्टी विधानमा अहिलेसम्म नेतृत्वका लागि ७० वर्षे हद छ । विधानको व्यवस्थालाई ओलीले अहिले निलम्बन गरेका छन् । ७० वर्ष उमेर हद कायम रहे उनी संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने चाहना पूरा नहुन सक्छ । त्यही कारण ओलीको मिसन नम्बर ३ के-हो भने अहिले नै संसदको दोस्रो ठूलो दल भएको मौका छोपेर देशको प्रधानमन्त्री बन्ने ।

यो पनि..

ओली मिसन स्पष्ट, अलमलमा एमाले


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।