एमालेलाई देव गुरूङको प्रस्ताव : देश संकटमुक्त गराउन मिलेर अघि बढौँ

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेलाई देव गुरूङको प्रस्ताव : देश संकटमुक्त गराउन मिलेर अघि बढौँ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरूङले मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प नरहेको बताउनुभएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिष्ट शक्तिबीचको एकता अनिवार्य सर्त बनेको जिकिर गर्नुभएको हो । 

नेता गुरूङले मुलुकको राष्ट्रियता सबै भन्दा बढी संकटमा पुगेको औँल्याउँदै त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिष्टहरूबीचको वृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरूबीचको सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताउनु भयो । 

उहाँले नेपाली कम्युनिष्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिष्ट शक्तिहरूसँग एकताको अभियान सञ्चालन गरेको र एमाले महाधिवेशनले पनि सोही प्रस्तावलाई पारित गरेर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेता गुरूङले मार्क्सवाद लेनिनवादको मार्ग निर्देशनको आधारमा नेपालका कम्युनिष्ट पार्टीहरूबीचका एकीकरण गरेर अघि बढ्न सकिने धारणा समेत राख्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.