
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा(एमाल)ले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन सत्रमा बौल्दै उहाँले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताउनुभएको हो । उहाँले प्रमुख राजनीतिक दलहरू कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हाबी भएको स्मरण गर्नुहुँदै राजनीतिक दलहरू मजबुत हुनुपर्नेमा जोड दिनुभयो ।
बहुदलिय व्यवस्थामा राजनीतिक दलहरू संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उहाँको भनाइ छ । उहाँले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई सही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भदौ २३ र २४ को जेन-जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको पनि बताउनु भयो । नेपालमा ऐतिहासिक सम्पत्ति, विभिन्न राजनीतिक दलका कार्यलयहरू जलाइएको उल्लेख गर्दै उहाँले ती अपराधिक क्रियाकलाप गर्नेहरूलाई समयले माफ नगर्ने पनि बताउनु भयो ।