ओली मिसन स्पष्ट, अलमलमा एमाले

माघ ८, २०८० |विकास आचार्य
ओली मिसन स्पष्ट, अलमलमा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा संस्थागत निर्णय नगरी आन्दोलनको कुरा गर्दा कार्यकर्ता मात्र होइन, एमालेका नेताहरु नै अन्योलमा देखिएका छन् । अध्यक्षले बोलेको कुराको समर्थन गरौं पार्टीमा कुनै आधिकारिक निर्णय भएको छैन, नगरौं एकल नेतृत्व शैलीमा चलेका अध्यक्षको कोपभाजनमा परिने डर ।

वर्तमान गठबन्धन भत्काउन नेकपा एमालेले भरमग्दुर प्रयास गरिरहेको छ । तर उसको प्रयास सफल भइरहेको छैन । त्यसैले नेकपा एमालेका अध्यक्ष केपी ओली आन्दोलनको कुरा गर्न थालेका छन् । तर आन्दोलनको कुरा उनकै दलका नेताहरु नै पत्याउँदैनन् । एमाले अध्यक्ष ओलीले गत बिहीबार पार्टीले सिठी फुक्नासाथ कार्यकर्तालाई सडकमा जम्मा हुन निर्देशन दिए ।

गठबन्धन सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले यो सरकार ढाल्न देशमा आन्दोलन चाहिएको दाबी गरेका छन् । तर सरकार ढाल्न संसद्‌मा बहुमत पुर्याउनुपर्नेमा ओलीसँग अहिलेसम्म त्यो तागत छैन । किनकि प्रधानमन्त्री पुष्पकमल दाहालसँग स्पष्ट बहुमत छ ।

एमाले अध्यक्ष ओलीले मिसन ८४ अर्थात् २०८४ सालमा हुने संसदीय चुनावसम्म पर्खन नसकिने अभिव्यक्ति दिएका छन् । के त्यसो भए अध्यक्ष ओलीले मध्यावधि निर्वाचनको कुरा गरेका हुन् त ? यो प्रश्नमा पनि नेकपा एमालेका नेता विश्वस्त छैनन् । एमाले नेता राजन भट्टरार्इ भन्छन्- यदि ओलीले मध्यावधिको कुरा नै गरेको हो भने पनि त्यो अवस्था अहिले छैन ।

यो पनि...

केपी ओलीको ‘मिसन-८४’


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।