
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको रोडम्यापसँग मेल खानेगरी उहाँले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गर्नुभएको हो । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव चन्दले सर्वपक्षीय अन्तरिम सरकार बनाएर मात्रै निर्वाचनमा जान उपयुक्त हुने बताउनु भयो ।
उहाँले वर्तमान सरकार अँध्यारो कुनाबाट बनेको अवैध भन्दै राजनीतिक दलहरूले नै सरकारको नेतृत्व गरेर मात्रै निर्वाचन गराउन सकिने तर्क समेत गर्नुभयो । महासचिव चन्दले एमालेले राष्ट्रिय स्वाधिनताको पक्षमा दिएको अडानका कारण यसमाथि देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरूले हमला गरिरहेको बताउनु भयो ।