एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री

कर छलीमा राजनीतिक मिलेमतोको आशंका
मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज (शुक्रबार) बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई बोलाएर एनसेल कर छलीबारे छलफल गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

बैठकमा सदस्यहरुले एनसेल कर छलीको विषय राजनीतिक मिलेमतोमा भएको भन्दै अनुसन्धानलाई अघि बढाउन माग गरेका थिए ।

बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको दाबी गरेका छन् । उनले विगतमा पनि सरकारले एनसेलले अर्बौं रुपैयाँ कर मिनाहा गरेको कुरा आए पनि त्यसप्रति कसैको चासो नभएको धारणा राखे ।

यस प्रकरणमा आवश्यक छानबिन गर्नुपर्ने भन्दै देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको अध्यक्ष यादवको भनाइ छ । उनले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको पनि जिकिरसमेत गरे ।

‘एकपटक सुनिएको थियो एनसेलको अर्बौंको कर मिनाहा गर्‍यो सरकारले । त्यतिबेला कुरा उठ्यो तर चासो कसैको अगाडि बढेन । एनसेल प्रकरणमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको जस्तो देखिन्छ पटक-पटक,’ अध्यक्ष यादवले भने, ‘देशमा सुशासनको अवस्था अत्यन्त नाजुक छ । आफूले भोगेको अहिलेसम्म हेरेकामा यत्तिको सुशासन बिग्रिएको अनुभव मैले कहिल्यै गरेको थिइनँ जुन अहिलेको अवस्थामा म देख्दै छु ।’

बैठकमा सदस्यहरुले अर्थ र सार्वजनिक लेखा समितिले समेत एनसेलबारे अध्ययन गरिरहेको भन्दै समितिको क्षेत्राधिकारबारे प्रश्न उठाएका थिए ।

एनसेल सेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छ : अध्यक्ष यादव


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement