आमसञ्चारसम्बन्धीसहित दुई विधेयक गण्डकी प्रदेश सभामा टेबुल

भाद्र ३०, २०८० |ऋषिकान्त पौडेल
आमसञ्चारसम्बन्धीसहित दुई विधेयक गण्डकी प्रदेश सभामा टेबुल

पोखरा । गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित २ विधेयक प्रदेश सभासमक्ष आज टेबुल गरिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयकातर्फबाट कृषी तथा भूमी व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले प्रदेश सभा बैठकमा आमसञ्चारसम्बन्धी विधेयक प्रस्तुत गरेका हुन् । गत २२ गते संसद सचिवालयमा दर्ता भएको विधेयक अघिल्लो कार्यकालको संसदमा पेस भएको थियो तर सर्वत्र आलोचनापछि पास हुन सकेको थिएन ।

आजको बैठकमा सरकारले प्रस्ताव पेस गरेसँगै प्रदेश सभामा विधेयकमाथि छलफल हुनेछ । अघिल्लो कार्यकालको संसदमा पेस गरिएको विधेयलाई आवश्यक संसोधन गर्दै वर्तमान सरकारले संसदमा प्रस्तुत गरेको हो । विधेयकलाई पूर्ण प्रेस स्वतन्त्रतामैत्री बनाइएको सरकारको दाबी छ। सरकारले नियुक्त गर्ने प्रेस रजिष्ट्रारलाई अधिकार सम्पन्न बनाइ विधेयक तयार पारिएको जनाइएको छ । विधेयकअनुसार प्रेस रजिष्ट्रारलाई सहसचिव सरहको मर्यादा कायम गरिएको छ ।

यस्तै गलत विज्ञापन गर्ने सञ्चार माध्यमलाई पाँच हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने, विदेशी नागरीकलाई गण्डकीमा सञ्चारमाध्यममा लगानी गर्न बन्देज लगाउने, सबैखाले सञ्चारमाध्यमको वर्गीकरण गर्ने लगायतका बुँदा विधेयकमा राखिएको छ ।

आजकै बैठकमा बिउबिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरीय बिउको उपलब्धतामार्फत बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषकको सुविधा तथा आर्थिक हित कायम राख्न बाञ्छनीय भएको ठहर गर्दै सरकारका तर्फबाट मन्त्री जीसीले बिउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेश सभासमक्ष पेस गरेका छन् ।

यसैगरी अर्थ तथा विकास समितिका ज्येष्ठ सदस्य भोजराज अर्यालले गण्डकी प्रदेशका वनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक सभाका सदस्यहरुले गरेको छलफलका क्रममा उठेका विषयसहितको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका छन् । उक्त विधेयकलाई प्रदेश सभाको गत ३ गते बसेको बैठकले दफादार छलफलका लागि समितिमा पठाएको थियो । प्रदेश सभाको अर्को बैठक असोज ४ गते बस्नेछ । 


Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।