पाइप चुहिएर छ्यालब्याल, मेलम्चीकाे पानीले बेहाल

फाल्गुन २०, २०८१ |प्रकाश बम
पाइप चुहिएर छ्यालब्याल, मेलम्चीकाे पानीले बेहाल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड-केयुकेएलले मेलम्चीको पानी वितरण गर्ने पाइप राजधानीमा ४० स्थानमा फुटेका छन् । फुटेका स्थानबाट पानी चुहावट हुँदा सडक जलमग्न हुनेदेखि भौतिक क्षतिसम्म निम्तिइरहेका छन् । तर, पानी चुहावटको दीर्घकालीन समाधान खोज्नुको साटो केयुकेएल सडकसँग जोडिएका निकायलाई दोष थोपर्न व्यस्त छ । मंगलबार पनि थापाथली क्षेत्रमा खानेपानीको पाइप फुट्दा उक्त सडक नै अवरुद्ध भयो ।

मंगलबार बिहान थापाथली क्षेत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड-केयुकेएलको पाइप फुट्दा सडक नै अवरुद्ध भयो । ठूलो फोर्ससहित बाहिर निस्किएको पानीले वरपरका पसलसमेत डुबायो ।

उक्त स्थानमा पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन । तर केयूकेएलले भने त्यस क्षेत्रमा विद्युतीय तार व्यवस्थापन गर्दा पाइपमा क्षति भएको र विस्तारै चर्किदै गएर क्षति भएको हुन सक्ने अनुमान गरेको छ । अहिले पाइप मर्मत चलिरहेको छ। केयुकेएलको पाइप फुटेको यो पहिलो घटना भने होइन ।

२०७९ मंसिर २६ गते लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालयबाहिर मूल सडकमा बिच्छ्याइएको पाइप फुट्दा सडक भत्किएर सवारी चालक र सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । गत फागुन ६ गते दिउँसो पनि बबरमहल क्षेत्रको पाइप फुट्दा वरपरका सरकारी कार्यालयसमेत डुबानमा परे । पानी चुहावटको क्रम बर्सेनि बढ्दो छ । पछिल्लो १ वर्षमा मात्रै साना-ठूला गरी ४० स्थानमा पाइप फुटेको केयूकेएललका प्रवक्ता प्रकाश राईले बताउनु भयो ।

राजधानीका दर्जनौं स्थानमा बारम्बार चुहावटको समस्या दोहारिइरहे पनि केयुकेएल आफ्नो त्रुटि स्वीकार्न तयार छैन । ठेक्का सम्झौता हुँदा नै अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तरको पाइप बिछ्याएकाले गुणस्तरमा कमजोरी भन्न नमिल्ने तर्क केयुकेएलको छ । उसको दाबी छ-पाइपको गुणस्तर मापन गरेर मात्रै खरिद हुन्छ । अहिलेसम्म पाइप फुट्नुमा गुणस्तरहीन पाइप कारक नभएको र तेस्रो पक्ष प्रमुख कारण भएको केयूकेएलका प्रवक्ता प्रकाश राइको भनाइ छ । राईको संकेत हो-सडक विभाग, विद्युत प्राधिकरण या टेलिकम ।

केयुकेएलले लगाएको आरोपबारे हामीले विद्युत प्राधिकरणलाई पनि सोध्यौं । प्रवक्ता चन्दनकुमार घोषको भनाइ छ-यो सबै केयुकेयुललले लगाएको अनर्गल आरोप हो। तर, एउटा कुरा के पक्का हो भने सडक खन्ने, पुर्ने गरिरहने विद्युत प्राधिकरण, सडक विभाग, टेलिकम र केयुकेएलबीच नै समन्वय छैन र दोष एक अर्कालाई थोपरिरहेका छन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement