जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको धारणा राखेका छन् ।

सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित गणतन्त्र दिवसको कार्यक्रममा उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको जनाए । उनले महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आमनेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा राखे ।

संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ । लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक हो,’ प्रधानमन्त्री दाहालले भने, ‘तर महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आमनेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिन्छ । संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन ।’

उनले आमजनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने पनि जनाए । उनले जनताको जीवनस्तरलाई यथाशीघ्रमाथि उकास्ने प्रतिबद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उल्लेख गरे । राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रुपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘आमजनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य पनि प्रमाणित हुँदैन । यसलाई मनन गरी जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धतासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ । राजनीतिले जबसम्म जनताको जीवनस्तर सुधार ल्याउने काममा योगदान गर्दैन, मुलुकको राष्ट्रिय स्वाधिनतालाई संरक्षण र संवद्र्धन गर्ने काम गर्दैन, परिवर्तन अधुरो रहन्छ । हामी सबैले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रुपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी छ,’ उनले भने, ‘यो बीचमा गणतन्त्रमै वितृष्णा जगाउने र संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कसरत देखिएको छ । यी प्रयासहरु कदापि सफल हुने छैनन् । किनभने लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुनसक्छ ।’

प्रधानमन्त्री दाहालले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्ण जगाउने काम भइरहेको भन्दै यी प्रयासहरु सफल नहुने दाबी गरे । ‘लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुन्छ,’ उनले भने ।

यो पनि...

१६औं गणतन्त्र दिवसमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतको शुभकामना
टुँडिखेलमा १६औं गणतन्त्र दिवस (तस्बिरसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement