१६औं गणतन्त्र दिवसमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतको शुभकामना

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
१६औं गणतन्त्र दिवसमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतको शुभकामना

काठमाडौं । आज १६औं गणतन्त्र दिवस । दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गर्दै बधाइ तथा शुभकामना दिएका छन् ।

गणतन्त्र जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्‍याउन सर्वोत्कृष्ट माध्यमको काम गर्ने बताउँदै राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थितिले त्यसलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती देखिएको जनाएका छन् । उपराष्ट्रपति रामसहाय यादवले गणतन्त्र भनेकै जनताको सामूहिक भावनाको सम्मान र कदर गरी राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था भएको भन्दै कमी-कमजोरी सच्याउँदै प्रगति पथमा निरन्तर लम्कन र अग्रगमनउन्मुख हुनु निर्विकल्प रहेकोमा जोड दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिटै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको जनाएका छन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले आन्दोलनले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आमअनुभूति रहेको जनाएका छन् । उनले नागरिकका विकासका चाहना, समृद्धिका अपेक्षा र सेवा प्रवाहका लागि अपेक्षित सहजता प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको शुभकामना सन्देशमार्फत जनाएका छन् । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ-आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नुपर्ने जनाएका छन् । ओलीले गणतन्त्र नेपाली जनताको बलिदान र संघर्षको सफलताको दिवस भएको भन्दै गणतन्त्र स्थापनापछिका त्रुटि भएका र तिनलाई सच्याउनुपर्ने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement