प्रधानमन्त्रीको भारत भ्रमण : निस्किएला त सीमाको विवादको समाधान ?

जेष्ठ १४, २०८० |अनिल मिश्र
प्रधानमन्त्रीको भारत भ्रमण : निस्किएला त सीमाको विवादको समाधान ?

काठमाडौं । सामाजिक, सांस्कृतिक हिसाबले नेपाल र भारतबीच नागरिकस्तरमा मैत्रीपूर्ण सम्बन्ध छ । तर, दुई देशबीचको सीमा विवाद इतिहासदेखि नै जटिल रहँदै आएको छ । ठाउँ-ठाउँमा भारतले सीमा मिचेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा सीमा समस्या समाधान गर्न र भारतले अतिक्रमण गरेका भूमि फिर्ताका लागि पहल गर्न द्विपक्षीय छलफल केन्द्रित गर्नुपर्ने आवाज नागरिक स्तरबाट उठेको छ ।

महाकाली नदीमा पुल र सडक नहुँदा दार्चुलाको ब्यास गाउँपालिकाका बासिन्दाले आफ्नै सदरमुकामा आउन पनि भारतीय तहसिल कार्यालयको स्वीकृति लिनुपर्ने बाध्यता छ । भारतीय भूमि प्रयोग गर्ने क्रममा भारतीय सुरक्षाकर्मीको ज्यादतीसमेत भोग्नुपर्ने अवस्था छ ।

ब्यासकै दुम्लिङ र बुदीमा झोलुंगेपुल निर्माणमा समेत भारतीय पक्षले अवरोध गर्दै आएका कारण स्थानीयले जोखिमपूर्ण तरिकाले तुइनको सहारामा महाकाली तर्नुपर्छ । नेपाल र भारत बीच रहेको १ हजार ८ सय ५० किलोमिटर खुला सीमा मध्ये कालापानी, लिपुलेक, सुस्ता सहित ७१ स्थानमा विवाद छन् । डडेल्धुरा, बैतडी, कञ्चनपुर, नवलपरासी र सप्तरीमा मात्र नभई भारतांसग जोडिएका २६ मध्ये २३ जिल्लामा लामो समयदेखि सीमा समस्या ज्यूँकात्यूँछन् । सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म भारतले ६० हजार ६ सय २७ हेक्टर नेपाली भूमि मिचेको आरोप छ।

सुस्ता क्षेत्रमा पनि सीमा समस्या उस्तै छ । भारतले त्यहाँका १४ हजार हेक्टर भन्दाबढी जमिन मिचेको छ । नेपाल र भारत दुवै सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हुन् । तर, भारतीय सुरक्षाकर्मीहरु अनुमति बिना हातहतियारसहित नेपाल प्रवेश गर्ने, सीमामा नेपाली माथि दुर्व्यवहार गर्ने, सीमा अतिक्रमण गर्ने जस्ता घटना पटक-पटक दोहोरिने गरेका छन् ।

हरेक राजनीतिक दलहरुले सीमा समस्या समाधानको आवाज उठाउने गर्छन् । तर, सरकारमा पुगेपछि आफ्नै प्रतिबद्धतालाई बिर्सने आम प्रवृत्ति छ । बरु भारतको केन्द्रीय सत्तासँग आफूलाई निकट देखाउने प्रतिस्पर्धा नै चल्ने गर्छ । सिमानामा भारतीय सुरक्षाकर्मीबाट नागरिकले भोग्नुपरेका समस्या समाधान भन्दा भारतलाई खुसी तुल्याउन सके परराष्ट्र सम्बन्ध राम्रो हुन्छ भन्ने बुझाइ सत्ताको रहने गरेको बुद्धिजीवीको भनाइ छ ।

त्यसैले नेपाल-भारत सम्बन्धको सफलताको मापन भारतलाई कति खुशी पार्न सकियो भन्ने होइन, भारतसँग कत्तिको समकक्षी सम्बन्ध निर्माण गर्न सकियो भन्ने आधारमा हुनुपर्दछ । 

थप...

प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे के भन्छन् भारतीय मिडिया ?
पञ्चेश्वर आयोजनामा ‘ब्रेक थ्रु’ हुने प्रधानमन्त्री दाहालको भनाइ


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।