
धनुषा । राजर्षि जनक विश्वविद्यालयले स्थापनाको सात वर्षपछि आफ्नै स्थायी भवन निर्माण प्रक्रिया अघि बढाएको छ।
धनुषाको नगराइन नगरपालिका फुलगामास्थित मनियारी पर्तिमा भवन निर्माणका लागि आवश्यक तयारी थालिएको हो । ठेक्का प्रक्रियामा जानुअघि विश्वविद्यालयले जग्गा खाली गराउने, तारजाली लगाउने काम सुरु गरेको छ।
भाडाको घरमा सञ्चालन हुँदै आएको राजर्षि जनक विश्वविद्यालयले आफ्नै स्थायी भवन बनाउन प्रक्रिया अघि बढाएको छ। गुठी संस्थानसँग वार्षिक ५ लाख रुपैयाँ भाडा तिर्ने सर्तमा फुलगामास्थित मनियारीको ९ बिघाभन्दा बढी जग्गा उपयोगका लागि लिइएको छ ।
भवन निर्माण गर्नुअघि जग्गाको सुरक्षा सुनिश्चित गर्न विश्वविद्यालयको जग्गामा तारजाली लगाउने काम र चारैतर्फ पहुँच मार्ग निर्माण गरिदैँछ भने आवश्यक पूर्वाधार निर्माणका लागि विश्वविद्यालयले प्रक्रियागत काम अघि बढाएको छ। गुठी संस्थानसँग भाडमा लिएको ९ बिघा जग्गाबाहेक अतिक्रमणमा परेको ४ बिघाभन्दा बढी सार्वजनिक जग्गा खाली गराएर विश्वविद्यालयको स्वामित्वमा समेटिएको छ।
नगराइन नगरपालिकाको समन्वयमा विश्वविद्यालयको जग्गामा सहज पहुँच सुनिश्चित गर्न आधा विश्वविद्यालय र आधा स्थानीय किसानको निजी जग्गा प्रयोग गरेर २० फिटको सडक चारैतर्फ निर्माण गर्न थालिएकाे छ। भवन बनाउन हाल विश्वविद्यालयको खातामा १२ करोड रुपैयाँ मौज्दात छ भने संघीय सरकारले थप १० करोड २० लाख रुपैयाँ बजेट दिएको छ ।
विश्वविद्यालयको प्रशासनिक भवन बनाउन आर्थिक समस्या नरहेको बेला स्थानीयवासीहरूले जग्गा व्यवस्थापन, तारबार र सडक निर्माण सम्पन्न भएपछि भवन निर्माण कार्यमा ढिलाइ नगर्न चेतावनी दिएका छन् । विश्वविद्यालयको स्थायी संरचना निर्माणलाई अब थप नलम्ब्याउन सरोकारबालासँग माग गरेका छन् ।
राजर्षि जनक विश्वविद्यालय स्थापना गर्न २०५३ सालमा धनुषा र महोत्तरीका साविकका गाविसहरूबाट प्रति गाविस १-१ लाख रुपैयाँ संकलन गरिएको थियो । सरकारी अनुदानसहित संकलित रकम विश्वविद्यालयको कोषमा जम्मा हुँदै आएको छ । तर, स्थायी भवन नहुँदा विश्वविद्यालयले वार्षिक ७० लाख रुपैयाँ भाडा तिरेर प्रशासनिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।