
काठमाडौं । बबईको बाढीले कति चाहिँ दुःख दिएन होला । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ भम्कीकी स्थानीय बिना चौधरी प्रत्येक वर्ष बाढीले सताउनेमध्येकी एक हुनुहुन्थ्यो । बबई खोलाको छेउमा उहाँको साढे २ कट्ठा खेत छ ।
२०८० सालको कुरा हो । मकै भाँच्न ठीक्क बेला भएको थियो । तर, बबईको ठूलो भेलले खेतभरिको मकै सोहोरेर लग्यो । गिट्टी बालुवा थोपरिदियो । अब केही उब्जनी हुँदैन भनेर हार मानिसक्नुभएकी चौधरीले खेत खाली राख्नुसाटो जसोतसो ५० बोट मसला रोप्नुभयो । अहिले खेतमा मसला हुर्किरहेको छ भने २ वर्ष भयो बाढी पनि पसेको छैन ।
उहाँ भन्नुहुन्छ, “भएको साढे २ कट्ठा खेतमा पनि बाढी पसिगयो । अब केही हुँदैन भने रुख लगाएँ, दुई वर्ष भो बाढी पसेको छैन । अहिले त तरकारी फलाएर अलि अलि कमाइ पनि गर्दै छु ।” भम्कीकै विष्णुमणि दाहाल, नेत्रमणि दाहाल, रामबहादुर चौधरीहरूको पनि समस्या उस्तै थियो ।
उहाँहरूले पनि आआफ्ना खोला किनारका खेतमा वृक्षारोपण गर्नुभएको छ । बचेखुचेको भागमा तरकारी पनि लगाउनुभएको छ । बाढी, ढुवान र कटानजस्ता विपत्तिले थलिएका भम्कीवासीलाई अहिले झनै राहत भएको छ । समृद्धिका लागि वन परियोजना अन्तर्गत अहिले नदी उकास क्षेत्रमै सार्वजनिक वन लगाइएको छ । जसले खेतसम्म पस्ने बाढीलाई थप एक चरण अगाडि नै रोकिरहेको छ ।
“यो तीन वटा सरकारले परिचालन गर्ने कार्यक्रम हो । सार्वजनिक जग्गामा वन विकास गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ”, समृद्धिका लागि वन परियोजना, प्रादेशिक परियोजना व्यवस्थापन एकाई बुटवलका अनुगमन तथा मूल्यांकन विज्ञ नगेन्द्र रेग्मी बताउनुहुन्छ ।
उहाँ यो परियोजनालाई कार्बन उत्सर्जन न्यूनीकरणको महत्त्वपूर्ण पहलकदमी मान्नुहुन्छ । साथै वनमा आधारित उद्योगलाई कच्चा पदार्थ पूर्ति गर्न पनि यो कार्यक्रमले सहयोग पुर्याउने उहाँको ठम्याइ छ । सरकारको यही परियोजनाअन्तर्गत अहिले बबई नदीको उजाड सुन्दर बगर क्षेत्र हराभरा वनमा रूपान्तरण हुन लागेको छ ।
भम्कीमा १.८ हेक्टर क्षेत्रफलमा २०८१ साल असार १५ गते सार्वजनिक वन लगाइएको थियो । वनमा २ हजार ५ सय खयर र ५ सय जामुन हुर्किरहेका छन् । साथै सिसौ र टिकजस्ता अन्य बोटबिरुवा पनि छन् । यी बोटबिरुवा अहिले करिब ७ फिटका छन् ।

वनको संरक्षण अहिले स्थानीयहरूले नै गरिरहेका छन् । वन वरिपरि फेन्सिङ गरिएको छ । यी बोटविरुवाले बाढीको प्रभाव त रोकेको छ नै, भविष्यमा आम्दानी पनि दिने निश्चित छ । आम्दानी हुने भनेको वन पैदावार बेच्दा आउने रोयल्टी हो । सार्वजनिक वनको मोडलमा गइसकेपछि स्थानीयसँग आम्दानी बाँडफाँट गरिने अनुगमन तथा मूल्यांकन विज्ञ रेग्मी बताउनुहुन्छ ।
बबई नेपालको मध्यपश्चिमी क्षेत्रमा पर्ने एक महत्त्वपूर्ण नदी हो । दाङ उपत्यकाबाट सुरु भई सल्यान र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै भारत पुग्ने यो नदी करिब ४०० किलोमिटर लामो छ । जैविक विविधताका लागि प्रसिद्ध यो नदी आसपासमा बाढी र कटानको जोखिम उच्च छ । तर, समृद्धिका लागि वन परियोजना अन्तर्गतको सुन्दर बगर सार्वजनिक वनले यो जोखिम न्यूनीकरणमा उल्लेख्य भूमिका खेलिरहेको छ ।

विपत्तिले लखेटिरह्यो, समुदायले हार मानेन
स्थानीयले दृढता देखाउँदैन थिए त सुन्दर बगर सार्वजनिक वन अहिलेजस्तो सफलताउन्मुख हुँदैन थियो । कारण, वृक्षारोपणको एक साता पनि नबित्दै बाढीकै कारण सबै सखाप भएको थियो । २०८१ साल असार १५ गते रोपिएका अधिकांश जामुन र खयरका बोट बबईको बाढीले बगाए । तर, समुदायले हार मानेन ।
सुन्दर बगर सार्वजनिक वन उपभोक्ता समूहका अध्यक्ष राजकुमार चौधरीले भन्नुहुन्छ, “बिरुवा बग्दा हामीलाई ठूलो चोट लागेको थियो, केही समय त अब सकियो जस्तो पनि लग्यो तर सुन्दर बगरको कथा त्यहीँ समाप्त भएन । स्थानीय समुदायले हार मानेन । हामीले पुनः २ हजार खयरका बिरुवा रोप्यौँ, तारबार गर्यौँ र संरक्षणलाई प्राथमिकतामा राख्यौँ । बाढीले बगाएको सपना हामीले फेरि आफ्नै हातले पुनः स्थापना गर्यौँ।”
समुदायको यो निरन्तर प्रयासको कदर गर्दै घोराही उपमहानगरपालिकाले २०८१ साल माघ १५ गते नगर स्थापना दिवसको अवसरमा यस वनलाई ‘उत्कृष्ट सार्वजनिक वन’ को रूपमा सम्मानपत्रसहित १० हजार नगद पुरस्कार प्रदान गरेको थियो ।
घोराही उपमहानगरपालिकाकी वन प्राविधिक गरिमा डाँगी खाली जग्गा भएकाले उपयोग गर्न र अतिक्रमण रोक्नका लागि वृक्षारोपण गरिएको बताउनुहुन्छ । “अहिले सार्वजनिक जग्गाको अतिक्रमण बढेको छ । त्यसलाई संरक्षण गर्ने उद्देश्यले पनि हामीले सार्वजनिक वन हुर्काइरहेका छौँ । अहिले ५ वटा पुगेका छन् । जसमध्ये समृद्धिका लागि वन परियोजनाले आर्थिक वर्ष २०८०/८१ मा २ वटामा सहयोग गरेको छ,” डाँगीले बताउनुभयो ।
यस सार्वजनिक वनको स्थापना तथा संरक्षणको कुल लागत ४ लाख १४ हजार ४ सय ४० रुपैयाँ छ । घोराहीकै १२ नम्बर वडामा पनि समृद्धिका लागि वन परियोजनाअन्तर्गतै २.५ हेक्टर क्षेत्रफलमा अर्को वन छ- साततले सार्वजनिक वन । यहाँ करिब ३ हजार स्थानीय जातका बोटबिरुवा हुर्किइरहेका छन् ।
यो वन पनि नदी उकास जमिनमै हुर्किइरहेको छ । ठाकुर खोलाको बगरमा अवस्थित यो वनको आम्दानी पनि स्थानीयसँग बाँडफाँट गर्ने गरी उपमहानगरपालिकासँग परियोजनाले सम्झौता भएको छ । जडिबुटी, गैरकाठ वन पैदावार र अन्य आयमूलक खेती गरेर भएको आम्दानी वन उपभोक्ता समितिकै हुनेछ । ठूला रुख काटेर हुने आम्दानीको भने १० प्रतिशत उपमहानगरपालिकालाई बुझाउनुपर्नेछ ।
सम्बन्धित समाचार :