फूल, पाटन र भैँसीगोठको संगम : गुठीचौरमा पर्यटकको आकर्षण

असार १७, २०८३ |डीबी बुढा
फूल, पाटन र भैँसीगोठको संगम : गुठीचौरमा पर्यटकको आकर्षण

जुम्ला । जुम्लाको गुठीचौर पाटन यतिबेला फूल फुलेर रंगीचंगी बनेको छ । 

यिनै ढकमक्क फूल हेर्न आन्तरिक तथा बाह्य पर्यटक खचाखच छन् । अझ खास आकर्षण त जाजरकोटबाट लगिएका भैँसीहरू पाटनमा चरिरहेको दृश्य र भेडीखर्कहरूमा गोठालाहरुको दैनिकी हो ।

जाजरकोट बारेकोट गाउँपालिका लुम्साका हस्तबहादुर बोहोरा एक महिनायता जुम्लाको गुठीचौर पाटनमा हुनुहुन्छ । उहाँ पछिल्लो एक दशकदेखि बर्खामा भैँसी लिएर गुठीचौर उक्लिनुहुन्छ । गत जेठ २२ गते घरबाट हिँडेका हस्तबाहदुरले ११ दिन लगाएर यो पाठनमा भैँसी ल्याइपुर्‍याउनुभयो । 

उहाँका ५ वटा भैँसी छन् । यो समयमा जाजरकोटतिर घाँसपात नहुने हुनाले उहाँ पाटन उक्लिनुभएको हो । हस्तबहादुरलाई यो पाटन विस्तारै आधुनिक बन्दै गइरहेको आभास हुन्छ । खर्कमा खानेपानीको अभाव त छ नै खाने खर्चदेखि दु:ख बिरामी पर्दा निकै आपत् हुन्छ । 

तर, अचेल खर्कमा चाहिने सामग्री आपूर्ति केही सहज छ । खुसीको कुरा त के भने अहिले अहिले खर्कबाटै गोठालाहरुले सञ्चार सम्पर्क गरेर आफन्तसँग सञ्चो बिसञ्चाे सोधिरहेका हुन्छन् । जुन पहिले निकै कठिन थियो । जुम्लाको आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र गुठीचौरका भैँसीगोठमा समेत पर्यटकहरु पुग्छन् । 

दूध-दही किनेर लैजान्छन् । जसले गर्दा गोठालाहरू आम्दानीसमेत भइरहेको छ । यतिबेला पाटन उक्लिएका गोठालाहरु दशैँतिहार मनाउने बेलामा मात्रै बस्तुभाउलाई बारेकोट झार्छन् । गुठीचौर आसपास नेपाल टेलिकमले टावर थपेको छ । पाँच वर्षअघिसम्म घरमा घटना भइहालेमा ढिलो गरेर खबर पुग्थ्यो । 

पहिले बाटोमा खाद्यन्न पाइँदैनथ्यो, घरबाटै सामल बोकेर ल्याउनुपर्थ्यो । अहिले खर्कमै सवारीसाधन लिएर पर्यटक पुगिरहेका हुन्छन् । उनीहरु खर्कमै गएर दूध, दही, घ्यू खरिद गर्छन् । केहीले त खर्कमै गोठालाहरुसँगै रमाइलो गरेर खाने गर्छन् । गुठीचौर पाटन डोल्पा जाने बाटोमा पर्ने भएकाले अधिकांश पर्यटक यहाँ पुगेर रमाइरहेका भेटिन्छन् ।

जुम्लाका गुठीचौर, खाली, चेरे, पातारासीका पाटनहरूमा यतिबेला गाईभैँसी, भेडा चराउन लैजाने चलन छ। खर्कहरुमा सञ्चार र यातायात पहुँच पुगे पनि पशुबस्तुमा लाग्ने रोग निवारणका लागि पशुचिकित्सकहरु पाटनमै पुगेर उपचार गर्ने व्यवस्था मिलाइदिनुपर्ने गोठालाहरुको माग छ। 

हिमाली तथा उच्चपहाडी क्षेत्रका पाटनहरु केवल घाँसे मैदान मात्र होइनन्, ती हाम्रो संस्कृति, परम्परा र पर्यापर्यावरणसँग जोडिएका जीवन्त सामाजिक प्रणली पनि हुन् ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।