
काठमाडौं । फिफा विश्वकपमा १० खेलाडीमा समेटिएको इक्वेडरलाई २-० ले हराउनु मेक्सिकोका लागि केबल एक जित मात्रै थिएन् ।
यो, उनीहरुका लागि इतिहास पुनरावृत्ति गर्ने र नयाँ उर्जाको सदुपयोग गर्ने अवसर पनि हो । आफैंले आयोजना गरेको २०औं शताब्दीका दुई विश्वकपभन्दा अघि बढेर सहआयोजक टोली मेक्सिको यसपटक नयाँ इतिहास बनाउने यात्रामा लम्किरहेको छ ।
जारी फिफा विश्वकप नयाँ इतिहास लेख्नेहरुका लागि हो भन्ने नयाँ नतिजाले देखाइरहेका छन् । र, एउटा यस्तै उदाहरण बन्यो सहआयोजक मेक्सिकोको अन्तिम १६ मा प्रवेश । घरेलु मैदानको फाइदाका हिसाबले वा प्रदर्शन, उसको सफलता इतिहासमै गौरव गर्न लायक मात्रै छैन, असम्भवलाई सम्भव बनाउने मौका पनि छ ।
टिमको वर्तमान फर्म, घरेलु मैदानको फाइदा, क्लिन सिटले डिफेन्स र टिममा बढाएको आत्मविश्वासले मेक्सिकन टोली पूरा शक्तिका साथ अर्को मैदान उत्रनेछ । विश्वकपका चार खेलमा चार जितमा ८ गोल गर्दा र एक गोल पनि नखाएको कारण टोलीको कन्सिस्टेन्सी गज्जबको देखिन्छ ।
बुधबार बिहानको खेलमा इक्वेडरलाई २-० ले हराउँदा अब उसको यात्रा अन्तिम १६ को सम्भावित प्रतिद्वन्द्वीतर्फ केन्द्रित छ । अब उसले प्रि क्वार्टरफाइनलमा इज्टेका रंगालामा इंग्ल्यान्ड र डीआर कंगोबीचको खेलको विजेताको सामना गर्नेछ । एज्टेकामा मेक्सिकोले ८९ खेल खेल्दा केबल २ हार बेहोरेको छ ।
७० खेलमा त जित नै हात पारेको छ भने १० खेलमा अपराजित छ । प्रि क्वर्टरफाइनलमा इंग्ल्यान्ड आएमा उसँग बालोन दो अवार्डका दावेदार र विश्वकपकै गोल्डेन बुटका दावेदार हेरी केन हुनेछन् । सँगै हुनेछन् बेलिङ्घमजस्ता स्टार खेलाडी। तर, मेक्सिकोसँग जुन आत्मविश्वास र लय छ त्यसले असम्भवलाई सम्भव बनाउँछ ।
त्यसो त मेक्सिको अहिलेसम्म क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेको छैन । अर्कोतर्फ विश्वकपकको अन्तिम ३२ बाटै जर्मनी बाहिरिएपछि प्रशिक्षक नागेल्समेनको जागिर धरापमा छ । आफ्नो टिम बाहिरिएको २४ घण्टा नबित्दै नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिएका छन् ।
उरुग्वेजस्तो बलियो टोली पनि समूहबाटै बाहिरियो। अर्कोतर्फ घरेलु मैदानको समर्थकले मेक्सिकोको प्रदर्शन मजबुत देशका टिमको भन्दा राम्रो हुने स्वयं प्रशिक्षकको पनि छ । अन्तिम ३२ को खेलपछि केही मेक्सिकन समर्थकले रंगशाला बाहिर धेरै वर्षपछि मेक्सिकोले उच्चस्तरको प्रदर्शन गरिरहेको देखेको र यसैकारण पनि मेक्सिकन हुनुमा गर्व गरेको बताएका छन् ।
१८ वर्ष नपुगेका गिल्बर्टो मोरा विश्वकपकै सबैभन्दा चर्चित कान्छा खेलाडी बनेका छन् । उनी नकआउट खेलको सुरुआती लाइनअपमा रहने पेलेपछिका पहिलो कान्छा खेलाडी बनेका छन् । अर्कोतर्फ उल्भ्सका स्ट्राइकर राउल जिमिनेज र जुलियन केन्योनेसले अट्याकिङ लाइनअपलाई बलियो बनाएका छन् ।
केन्योनेसले त तीन गोलसमेत गरिसकेका छन् । मंगलबार बिहानको खेलमा जुलियन किन्योमेन र राउल जिमिनेजले सानदार गोल गरे । जसले मेक्सिकोका खेलाडी फर्ममा रहेको संकेत गरेको छ । अब मेक्सिकोलाई एउटै डर भनेको उनीहरुकै भाषामा क्विन्टो पार्टीडोको हो ।
यो भनेको क्रिकेटमा नर्भस नाइन्टी भनेजस्तै पाँचौ खेलको दबाब हो । मेक्सिको अहिलेसम्म विश्वकपमा पाँचौ खेलभन्दा माथि जान सकेको छैन । सन् १९७० र १९८६ मा विश्वकप आयोजना गर्दा मेक्सिको दुवै पटक क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।
त्यसपछि २०१८ सम्मका विश्वकपमा पाँचौ खेलबाट पराजित हुँदै आएको छ । यसपटक भने ऊ विगतको पराजयभन्दा माथि उठेर डेडलक तोड्ने तयारीमा छ । यदि त्यसो भएमा मेक्सिको विश्वकपको उपाधि दावेदार बन्नेछ । र, उत्तर अमेरिकामा नयाँ आशाको जागृत हुनेछ ।