काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै अब भाषणलाई भन्दा कामलाई प्राथमिकता दिने बताएका थिए ।
त्यसपछि पनि उनले पटक पटक जनताको सेवामा काम गर्ने भन्दै सानातिना विषयमा नअलमलिने सार्वजनिक अभिव्यक्ति दिन भ्याए । तर तीन महिनाको अवधिसम्म प्रधानमन्त्री दाहालले आफैँले बोलेका कुरा व्यवहारमा उतार्न सकेका छैनन् । बरु मुख्य विषय नै छाडेर उनी सानातिना कार्यक्रम र गोष्ठीमै सीमित हुन थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार मात्रै विमन लिडरसिप समिट, विश्व नेवा दिवस र लायन्स क्लबको कार्यक्रममा सहभागी भए । यी औपचारिक कार्यक्रम सकेर उनी पार्टी पदाधिकारी बैठकमा भाग लिन पुगे । त्यसबाहेक बालुवाटारमा भएका अन्य भेटघाट त छँदै छन् ।
प्रधानमन्त्री भएदेखि उनले यस्तै कार्यक्रममा धेरै समय खर्चँदै आएका छन् । जबकि प्रधानमन्त्री दाहालले सुरुवाती दिनमा काम बढी र भाषण कम गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसपालि भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री
दाहालले गत पुसमा चितवनको एक कार्यक्रममा दिएको अभिव्यक्ति थियो यो । तर त्यसपछि उनी दिनहुँ औपचारिक कार्यक्रममा सहभागी भइरहेका छन् । पुस्तक विमोचनदेखि औपचारिक कार्यक्रमको आतिथ्य ग्रहण उनका लागि नियमित जस्तै छ ।
निर्माण व्यवसायीको सम्मेलन उद्घाटनदेखि विद्यालय स्तरका कार्यक्रममासमेत उनी सहभागी भइरहेका छन् । वैदेशिक रोजगार व्यवसायी संघदेखि 'आयुर्वेद कंग्रेस' को कार्यक्रम उद्घाटनसम्म दाहाल पुगेका छन् । यस्तै कार्यक्रममा अलमलिँदा उनले आफूले भने जसरी काम गर्न सकेका छैनन् ।
दोस्रो पटक विश्वासको मत पाएको साता दिन बितिसक्दा पनि उनले मन्त्रिपरिषद् विस्तारसम्म गर्न सकेका छैनन् । न त सदनलाई पर्याप्त काम नै दिन सकेका छन् ।
दाहालले अझै विस्तार गर्न सकेनन् मन्त्रिपरिषद्
राजनीतिक रुपमासमेत अप्ठ्यारो परिस्थितमा रहेका दाहालको ध्यान जनजीविकाका विषयसँगै जोडिनुपर्ने थियो । तर आवश्यकताभन्दा बढी औपचारिक कार्यक्रममा बिताएको उनकै दलका नेताहरू स्विकार्छन् ।
दाहाललाई तीन महिनाभित्रै दुई-दुई पटक विश्वासको मत लिनुपर्ने अवस्था आयो । राजनीतिक समीकरण फेरबदलसँगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन उनका लागि बहाना बन्यो ।
उनले खेल मैदानमै पुगेर खेलाडीलाई हौसला दिने, सम्मान गर्ने तथा बैङ्क तथा वित्तीय संस्थामा देखिएको समस्या समाधानका लागि सकारात्मक पहल पनि गरेका छन् ।
नेपालको निर्णायक खेल, प्रधानमन्त्री दाहाल पुगे त्रिवि मैदानमा
प्रधानमन्त्री दाहाल केही आयोजनाको शिलान्यासमा पनि सहभागी भएका छन् । तर यतिमा मात्रै उनले चित्त बुझाउने ठाउँ छैनन् । अत्यधिक समय औपचारिक कार्यक्रममा खर्चिँदा मुलुकका लागि गर्नै पर्ने कामलाई महत्त्व दिन सकेको देखिँदैन ।
प्रधानमन्त्री बन्नासाथ औपचारिक कार्यक्रम पुरै छाड्नुपर्छ भन्ने होइन । तर कुन कामलाई कति समय दिने भन्ने तय गर्न सक्नुपर्छ । प्रधानमन्त्री र उनको सचिवालयले त्यसको निर्धारण गर्न सकेको छैन । त्यही कारण उनी कुनै बहाना मिल्नासाथ घण्टौँ औपचारिक कार्यक्रममा बिताइरहेका छन् ।
समय व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री दाहाल कतिपय कार्यक्रममा घण्टौँ ढिलो पुग्ने गरेका छन् । अहिले सबैजसो मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री दाहालले लामो समय यस्तै औपचारिक कार्यक्रममा खर्चिँदै गए आफ्नै प्रतिबद्धता पूरा गर्न कठिन हुनेछ ।